काठमाडौं । सेयर बजारमा सुधार आएको छ । बुधबार ३ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४८ करोडले बढेर सवा १ अर्ब नाघेको छ ।
बिहीबार नेप्से ११.२२ अंकले बढेर १९६१.०७ विन्दुमा पुगेको छ । यसदिन २४१ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँ बढीको ३६ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ३ उपसमूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १४ करोडकोे सेयर किनबेच भएको छ । त्यस्तै, एनसीसी बैंकको प्रमोट सेयर ८ करोड र हिमाल दोलखा हाइड्रोेपावर साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याककै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, श्वेत गंगा हाइड्रोपावर ९.२१, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.०८, स्वाभिमान लघुवित्त ४.९५, मनकामना स्मार्ट लघुवित्त, लक्ष्मी इक्वीटी फण्ड, हिमाल दोलखा हाइड्रोपावर र यसनिलिभरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।