नीतिगत कडाइ कायमै राख्ने गभर्नरको सन्देश

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्र नै एक प्रकारको कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण विश्वका विकसित देशहरु पनि मूल्यवृद्धि र बाह्य क्षेत्रको दबाबमा रहेको बताएका हुन् ।

‘अहिले आएर हाम्रा बीच केही अप्ठ्यारा कुराहरु देखिरहेका छन् । गत वर्षभरी हामी बाह्य क्षेत्रबाट दबाबमा रह्यौं । एकै वर्ष २.३४ अर्बको विदेशी मुद्रा गुमायौं,’ अधिकारीले भने, ‘झण्डै अढाइ खर्ब मुद्रा संचिति गर्नको लागि राष्ट्र बैंक स्थापना भएको करिब ५५ वर्ष लाग्यो । एक वर्षमा हामीले यत्ति गुमाउँदै छौं भने यस विषयमा सोच्न जरुरी छ ।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य संकट कायमै रहेको भन्दै नीतिगत कडाइका व्यवस्थालाइ निरन्तरता दिने सन्देश दिएका छन् । उनले अहिलेको अर्थतन्त्र जटील सर्कलमा भएको बताए । ‘बाहिरबाट रेमिट्यान्स आउँछ, त्यो आयातमै जान्छ । यसरी अर्थतन्त्र चल्दैन् । हामीले सुधार गर्नु जरुरी छ,’ उनले भने ।

आफ्नो नियन्त्रण भन्दा बाहिर भएको कुरालाई खोल्न खोज्यो भने त्यसले अर्थतन्त्र गम्भीरता तिर लैजानेमा राष्ट्र बैंक सचेत भएको अधिकारीको भनाइ छ ।
‘अर्थतन्त्रमा सबै कुरा सधै एकनासका भएर जाँदैनन् । तर त्यो कुरा कति सहन सक्ने हुन त्यसमा भरपर्छ,’ अधिकारीले भने, ‘आफ्नो नियन्त्रण भन्दा बाहिर भएको कुरालाई खोल्न खोज्यो भने त्यसले गम्भीरता तिर अर्थतन्त्र लैजानेमा राष्ट्र बैंक सचेत छ ।’

राष्ट्र बैंकले गत वर्षदेखि वस्तु आयातमा ५० देखि सतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । सो नीतिले हालसम्म निरन्तरता पाएको छ भने बाह्य चाप कायमै रहेसम्म कडाइ कायमै राख्ने राष्ट्र बैंकका अधिकारीहरु बताइरहेका छन ।

राष्ट्र बैंकले प्रयोग गरेका उपकरण र केही प्रतिबन्धात्मक व्यवस्थाले यो वर्षको पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा सुधार भएको उनले बताए । ‘गत वर्ष तरलता संकट समाधानका लागि राष्ट्र बैंकले जुन रकम पठाएको छ । अहिलेको अवस्थामा सुधार हुँदै गएको छ, त्यसकारण गत वर्षको जत्ति तरलता दिनु नपर्ने पनि हुन सक्छ,’ उनले भने ।

ब्याजदर बजारले निर्धारण गर्छ

चालु वर्षदेखि निजी क्षेत्र ब्याजदर वृद्धिको विरुद्धमा उत्रिएको छ । राष्ट्र बैंकले मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरलार्य ब्याजदर बढाउन प्रोत्साहन गरेको थियो । तर, अधिकारी भने खुला बजार अर्थतन्त्रमा बजारले नै ब्याजदर निर्धारण गर्ने बताउँछन् ।

‘ब्याजदर बजारले नै निर्धारण गर्नेमा राष्ट्र बैंक सकारात्मक छ । तर, यही बीचमा ब्याज बढेको विषयलाई लिएर निजी क्षेत्रबाट गुनासाहरु आएका छन् । यदि निर्धारण नै गुर्नपर्ने हो भने त्यसमा पनि बहस गर्न सकिन्छ,’ उनले भने ।

व्यवसायी भने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आधारदर नै घटाउनुपर्ने माग राखिरहेका छन् । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर घटाएको छ । तर, व्यवसायीहरु त्यसमा सन्तुष्ट छैनन् ।

चालु पूँजी कर्जा कार्यान्वयनमा निरन्तरता

निजी क्षेत्रले बिरोध गदै आएको चालु पूँजी कर्जा कार्यान्वयनलाई निरन्तरता दिने गभर्नरको सन्देश छ । चालु पूँजी कर्जा व्यवस्था तत्काल नभएर एक वर्ष अघिदेखि नै सुझाव संकलन गरेर कार्यान्वयनमा ल्याएको उनले बताए ।

‘हामीले चालु पूँजी कर्जा सम्बन्धी निर्देशिका पनि तत्काल लागु गरेका होइनौं । २०७८ पुस १५ गते नै प्रतिक्रियाको लागि राखिएको हो भने गत भदौमा जारी गरेर कात्तिकदेखि लागु गरिएको हो,’ उनले भने, ‘यत्ति समय सुझाव र गुनासोको लागि राखेर राष्ट्र बैंकले प्रतिक्रियाका साथ लागु गरेको छ । त्यसपछि पनि कार्यान्वयनमा आएको एक महिनासम्म सुझाव र प्रतिक्रियाको लागि राख्यौं ।’

निजी क्षेत्रका व्यवसायीहरुले भने चालु पूँजी कर्जालाई दुई वर्षपछि मात्र कार्यान्वयन गर्न माग गरिरहेका छन् । उत्पादन र माग संकूचनले व्यवसाय संकटमा रहेको भन्दै उनीहरुले तत्काल कार्यान्वयन नगर्न माग गरिरहेका छन् ।

‘कर्जाको दुरपयोग रोक्न यस्तो व्यवस्था आवश्यक रहेको उनको धारणा छ । ‘कसैको वर्किङ क्यापिटल स्थायी छ भने पाँच सम्मको ऋण लिनसक्ने व्यवस्था त्यहाँ छ । ऋणीहरुले आफ्नो ऋण र व्यवसायलाई त्यही अनुसार व्यवस्थित गनुपर्यो,’ अधिकारी भन्छन्, ‘यसको गाइड अरु केही छैन । ऋणको सही सदुपयोग होस् भन्ने मात्र हो । चालु पूँजी कर्जा हो भने त्यसमै लागु होस् ।’

चालु पूँजी कर्जा भनेर ऋण लिएर अर्को क्षेत्रमा लगानी गरे त्यसले जोखी निम्त्याउने उनको भनाइ छ । ‘अहिले चालु पूँजी कर्जा भनेर ऋण लिएर अर्को क्षेत्रमा लगायो भने त्यसको भुक्तानी कसरी हुन्छ । यी कुरामा सुधार र नियामकीय क्षेत्रबाट प्रोपर विश्लेषण हुनुपर्छ,’ उनले भने ।

सिष्टम, नियम र अनुशासन भित्र बस्नुपर्छ भन्ने हो भन्ने मुख्य विषय भएकाले त्यसभित्र बसिएन भने अर्थतन्त्र अकै बाटो तिर जाने उनले बताए ।

अर्थतन्त्रको समस्या समाधान गर्न सरकारमा 'सेन्स अफ अर्जेन्सी' हुनुपर्छ :  गगन थापा Read Previous

अर्थतन्त्रको समस्या समाधान गर्न सरकारमा 'सेन्स अफ अर्जेन्सी' हुनुपर्छ : गगन थापा

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो Read Next

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो