काठमाडौं । सिमरा विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २७ कम्पनीले आवेदन दिएका छन् । सेजले उद्योग स्थापनका लागि निवेदन दिन आह्वान गरेकोमा २७ कम्पनीले आवेदन दिएका हुन् ।
सेजले सिमरा विशेष आर्थिक क्षेत्र ब्लक ‘ए’ मा उद्योग स्थापना तथा संचालन गर्न प्रस्ताव पेश गर्दै सूचना निकालेको थियो । सिमरा सेजको ‘ए’ ब्लकमा ६५ प्टल खाली रहेका सेजका सब इन्जिनीयर सागर सिलवालले बताए ।
‘सेजमा आउन २ पटक सूचना निकालेका थियौँ यो पटक धेरैले आवेदन दिनुभएको छ, यो हाम्रो लागि सकारात्मक हो,’ उनले चाणक्य पोष्टसँग भने ‘सम्झौता हुन बाँकी प्लट ए भरिएपछि अरु प्लटका लागि पनि आह्वान गर्ने छौँ ।’
सिमरा विशेष आर्थिक क्षेत्रको ’बी’ ब्लक र ’सी’ खाली छन् । यी ब्लकमा पूर्वाधार विकासका लागि निफ्राले स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ ।
सरकारले देशमा निर्यात व्यापार बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्य ले मधेश प्रदेशको सिमरामा १२०.३४ हेक्टर क्षेत्रफलमा सिमरा सेज बनाइएको हो ।
कुन कुन उद्योगले गरे प्रस्ताव ?
सिमरा विशेष आर्थिक क्षेत्रमा ५ अर्ब ४७ करोड रुपैयाँ लगानीमा २७ उद्योग उद्योग सञ्चालनका आवेदन आएको छ । सेजमा खाद्य, प्लाष्टिक जन्य, गहना उत्पादन, हेण्डिक्राफ्ट, सिमेन्ट, डण्डी लगायत उद्योग आउन लागेका हुन्
सेजमा बीएचपी मेनुफेक्चरीङले ४५ करोड रुपैयाँ लगानीमा किचनकेयर उत्पादन उद्योग सञ्चालन गर्न आवेदन पेश गरेको छ । यसैगरी, एमएस अर्गा पोली इन्डष्ट्रिले ६ करोड लगानीमा पाइप उद्योग, इम्मप्याक्ट नेपालले ७ करोड, ईभी २ डब्ल्यू, ३ डब्ल्यू एसेम्बल इन्डष्ट्रिले २ करोड, श्रीराम निकेतन बायोटेकले ११ करोड, अमरदिप गार्मेन्ट इन्डिष्ट्रिले ६६ करोड, बिग विङग्स ट्रेडिङ कन्सर्नले १५ करोड, एभरेष्ट इक्यूपमेन्टले ८७, एग्रो थाइ फुड्सले २९ करोड, एभरेष्ट फेसनले ७ करोड, बायोभिटा हेल्थक्यरले ४० करोड, सुरेन्द्रकुमार कलवारले चाँदी गहना उत्पादनका लागि २२ करोड र एग्रो प्रोसेसिङ एण्ड एलाइड उद्योगमा ९ करोड रुपैयाँ लगानी गरी उद्योग सञ्चालनका लागि प्रस्ताव गरेको छ ।
यस्तै, वाग्मती आर्टस एण्ड हेण्डिक्राफ्टले ७ करोड, उन म्यान्यूफ्याक्चरले ६ करोड, थान्का उद्योगले ७ करोड, आर्टिफिसियल मार्बलले १९ करोड, स्पाइसि म्यान्यूफ्याक्चरले ११ करोड, सिमेन्ट बोर्ड उद्योगले ३४ करोड, आर्टिफिसियल ग्रेनिटले २० करोड, रेवथी इन्टरनेष्नलले ३ करोड, महेश श्रेष्ठले २ करोड, वाग्मती पेपर इन्डष्ट्रिले ३ करोड, फर्निचर उद्योगले १५ करोड, काठ म्यान्यूफ्याक्चरले १६ करोड, एभरेष्ट फर्मास्युटिकल्सले ५४ करोड र गणेश मेटल वक्र्स एण्ड ट्रेडर्सले ४ करोड रुपैयाँ लगानीमा सिमरा सेजमा उद्योग सञ्चालनका लागि आवेदन दिएका हुन् ।
यी कम्पनीहरू बीच सम्झौता हुन बाँकी रहेको सेजले जनाएको छ । यो सेजमा आर्थिक वर्ष २०६२÷६३ देखि पूर्वाधार निर्माण सुरू भएको थियो । सेजभित्र सञ्चालनमा आउने उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता गर्नुपर्ने छ ।