काठमाडौं । सरकारले गत वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्रको चाप कम गर्न भन्दै हालसम्म गाडी, मदिरा लगायत वस्तुहरूको आयात प्रतिबन्ध कायम राखेको छ । कोभिड पछिको अनियन्त्रित आयात र घट्दो विदेशी विनिमय संचितिले असन्तुलन ल्याएपछि कडाइका साथ लागू गरिएका वित्तीय उपकरणहरू पुनरावलोकन हुन सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत आयात कडाइको नीतिमा पुनरावलोकन गर्ने उद्योगी, व्यवसायीले अपेक्षा गरेका थिए । तर, राष्ट्र बैंकले सोही व्यवस्थालाई निरन्तरता दिएको छ ।
राष्ट्र बैंकले गत वर्षदेखि वस्तु आयातमा नगद ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । मौद्रिक समीक्षामा सो विषयमा राष्ट्र बैंक मौन रहेको छ भने पुरानै व्यवस्थालाई निरन्तरता दिएको बताएको छ ।
जसको कारण आयात माथिको कडाइले निरन्तरता पाएको छ । एकतिर सरकारले गाडी लगायतका वस्तुहरूको प्रतिबन्ध कायम राखेको छ भने अर्कोतर्फ राष्ट्र बैंकको नगद मार्जिन निरन्तरताले आयातमा कमी आउने तथा विदेशी विनिमय संचितिमा चाप कम हुने अपेक्षा गरिएको छ ।
आइतबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले मौद्रिक नीति २०७९/८० मा व्यवस्था भएका मौद्रिक उपकरणहरूलाई निरन्तरता दिइएको बताए ।
राष्ट्र बैंकले गत आवको पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा मार्फत वस्तुहरूको आयात प्रतीत पत्र (एलसी)खोल्दा अनिर्वाय रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । गत आर्थिक वर्षको मौद्रिक नीति, त्यसको समीक्षा र चालु वर्षको मौद्रिक नीति मार्फत अबलम्बन गरेका उपकरहरूले बाह्य क्षेत्र स्थायित्वमा देखापरेका जोखिम कम हुँदै गएको राष्ट्र बैंकको विश्लेषण छ ।
अर्थतन्त्रको बाह्य क्षेत्रको दबाबका कारण बैंकिङ क्षेत्रको साधन परिचालनमा आएको कमी कायमै रहेको राष्ट्र बैंकको भनाइ छ । ‘पछिल्लो तीन महिनाकै नीति कार्यान्वय र त्यसको प्रभाव हेर्यो भने धेरै फरक देखिन्छ । यस अवधिमा राष्ट्र बैंकले लिएका नीतिका कारण बाह्य क्षेत्रको दबाबमा कमी आएको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठले भने, ‘एउटा मात्र नभएर अन्य क्षेत्रको पनि सन्तुलन कायम गर्नुपर्छ । एउटा नीतिले त्यसले अर्को क्षेत्रमा पार्ने प्रभावलाइ पनि हेरेर आगामी दिनमा राष्ट्र बैंकले समीक्षा गर्नेछ ।’
गत वर्षको दोस्रो त्रैमासदेखि घटेको विनिमय संचिति तथा शोधनान्तर स्थितिको चाप कम भएको राष्ट्र बैंकको गत महिना प्रकाशित मासिक प्रतिवेदनले देखाउँछ । पछिल्लो एक वर्ष साढे ६ महिनाको आयात धान्न पुग्ने विनिमय संचिति कायम रहँदा असोज मसान्तमा बढेर ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।
असोज मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ अमेरिकी डलर विदेशी विनिमय संचिति कायम रहेको छ । यस अवधिमा २७ करोड डलरले चालु खाता घाटामा छ भने शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक लगायतका संस्थाहरूले आयात खुला गर्न राष्ट्र बैंकलाई सुझाव दिइरहका छन भने उद्योगी, व्यापारीहरू पनि सरकारले प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएका छन् ।