ब्याजदरमा राष्ट्र बैंकको चलखेल : उक्साएर बढायो, दबाब थेग्न नसकेपछि घटायो

काठमाडौं । वित्तीय क्षेत्रको ‘स्टेरिङ’ हाँक्ने नेपाल राष्ट्र बैंक ब्याजदरमा सधैं अस्थिर हुने गरेको छ । अध्ययन, अनुसन्धान र दीर्घकालीन असर भन्दा पनि तात्कालिक परिस्थित हेरेर नीति नियम लाद्ने राष्ट्र बैंकको प्रवृत्ति छ ।

केन्द्रीय बैंकले गर्ने हरेक नीति, निर्णयले देशको आर्थिक र वित्तीय क्षेत्रमै ठूलो प्रभाव पार्ने भए पनि उसले त्यसमा ध्यान दिएको देखिँदैन । राष्ट्र बैंकको आफ्नै कार्यशैलीकै कारण सधैं आरोपित हुँदै आएको ।

राष्ट्र बैंक माथि वित्तीय क्षेत्रका समस्या र त्यसको निराकरणमा भन्दा पनि हचुवा र लहडका भरमा नीति निर्माण गर्ने गरेको आरोप लाग्दै आएको छ । त्यस्तै, सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सहयोग गर्ने भन्दा पनि अफ्ठेरो पार्ने खालको नियम बनाउने गरेको आरोप छ । यसकै परिणाम बेलाबेलामा सरकार र राष्ट्र बैंक बीचको मनमुटाव सतहमा आउने गरेको छ ।

केन्द्रीय बैंकको अस्थिरताको एउटा मुख्य दृष्टान्त हो ब्याजदर । ब्याजदरका बारेमा राष्ट्र बैंकले पछिल्लो १ वर्षमा मात्रै ३ पटक फरक-फरक निर्णय गरिसकेको छ । कहिले ब्याजदर वृद्धि रोक्न ठाडो हस्तक्षेप त कहिले ब्याज बढाउन आफैं उक्साउने गरेको छ ।

सामान्यतया ब्याजदर बजारले निर्धारण गर्छ । विश्वव्यापी यही मान्यता राखिन्छ । कर्जाको माग बढ्दा ब्याजदर बढ्छ भने माग घट्दा ब्याजदर पनि घट्छ । देशभर आर्थिक गतिविधि चलायमान हुँदा कर्जाको बढ्छ । बैंकहरूले फाइदा कमाउन ब्याजदरमा चलखेल गर्न सक्छन् । त्यस्तो बेला हस्तक्षेप गर्नु राष्ट्र बैंकको दायित्व पनि हो ।

तर, नेपालमा ब्याजदर निर्धारण बजारले भन्दा पनि नियामक राष्ट्र बैंक र बैंकहरू स्वयम्ले गर्ने गरेका छन् । १ वर्षको अवधिमै ब्याजदर दोब्बरले बढेर १८ प्रतिशतसम्म पुगेको छ । जुन बजारले भन्दा पनि राष्ट्र बैंकको उक्साहट र बैंकहरूको नाफाखोरी उद्देश्यले पुगेको हो ।

उक्साएर बढाउने, दबाब थेग्न नसकेपछि घटाउने

पछिल्लो १ वर्षको अवधिमा ब्याजदरमा राष्ट्र बैंक सबैभन्दा अस्थिर देखिएको छ । उसले यस अवधिमै कहिले ठाडो हस्तक्षेप त कहिले ब्याज बढाउन आफैंले बैंकहरूलाई उक्साएको छ । यो राष्ट्र बैंकको असक्षमता र अदूरदर्शीता हो ।

गत कात्तिकमा बैंकहरूले ९ प्रतिशत हाराहारीमा रहेको निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएका थिए । सो बेला केन्द्रीय बैंकले ठाडो हस्तक्षेप गरेर मासिक १० प्रतिशतभन्दा बढी बढाउन नपाउने व्यवस्था गर्यो ।

त्यसपछि बैंकहरूले केही महिना सोही व्यवस्थामा टेकेर ब्याज बढाए । ब्याज बढाउँदा पनि निक्षेप नथपिएपछि बैंकहरूले फागुनदेखि निक्षेपको ब्याजदर स्थिर राखे । ६ महिनासम्म ब्याजदर एउटै राखे ।

तर, साउनमा भने राष्ट्र बैंकले एकाएक बैंकहरूलाई ब्याजदर बढाउन उक्सायो । मौद्रिक नीतिमार्फत नीतिगत बैंकदरहरू बढाउँदै ब्याज बढाउन प्रेरित गर्यो ।

राष्ट्र बैंकले ब्याजदर बढाउन अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, ब्याजदर करिडोर वृद्धि गर्यो । जसले बैंकहरूलाई ब्याज बढाउन बाध्य बनायो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोर अन्तर्गतको दरहरूलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत पुर्याएको थियो । राष्ट्र बैंकले उक्साए पनि साउनमा ब्याज नबढाएका बैंकहरूले भदौमा निक्षेपको ब्याज बढाए । राष्ट्र बैंकको उक्साहटमा दुई महिना लगातार ब्याज बढाएका बैंकहरूले फेरि कात्तिकदेखि भने ब्याजदर स्थिर राखेका छन् ।

साउनमा ब्याजदर बढाउन उक्साएको राष्ट्र बैंकले फेरि ३ महिनामै ब्याजदर घटाएको छ । आइतबार मौद्रिक नीतिको पहिलो त्रैमासिम समीक्षा गर्दै केन्द्रीय बैंकले बैंकहरूको अन्तर ब्याजदर घटाएको छ । जसले बैंक तथा वित्तीय संस्थाले लिने प्रिमियम घटेर कर्जाको ब्याजदर घट्ने छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत व्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको व्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको व्याजदरमा समेत सन्तुलन आउने उसको अपेक्षा छ ।

३ महिना अघि ब्याजदर बढाएको राष्ट्र बैंकले अहिले बाध्य भएर ब्याजदर घटाएको हो । अचाक्ली ब्याजदर बढेको भन्दै उद्योगी, व्यवसायी १ महिनादेखि सडक आन्दोलनमा छन् । चुनावअघि केही दिनका लागि स्थगित भएको आन्दोलन चुनावपछि फेरि निरन्तरता दिने निजी क्षेत्रका संगठनहरूले बताएका थिए ।

व्यवसायीहरूले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर ब्याजदर घटाउन दबाब दिँदै आएका थिए । व्यवसायीको चौतर्फी दबाब आन्दोलन थेग्न नसकेर राष्ट्र बैंकले अहिले ब्याजदर घटाएको छ ।

राष्ट्र बैंकले अहिले बैंकको नाफा प्रभावित हुने र ऋणीलाई थोरै राहत दिने गरी ब्याजदर घटाएको छ । ४ महिनाअघि जबरजस्ती ब्याज बढाएको राष्ट्र बैंक अहिले दबाब थेग्नै नसकेर घटाउनुपर्ने अवस्थामा आएको हो ।

यो उसको कच्चा, हचुवा र लहडी निर्णयको उपज हो । हरेक त्रैमाससैपिच्छे फरक फरक व्यवस्था गर्न थालेपछि राष्ट्र बैंकको कार्यक्षमता माथि फेरि प्रश्न उठेको छ । राष्ट्र बैंकमाथि ३ महिना पनि टिक्नै नसक्ने कस्तो नीति बनाउँछ भन्दै गम्भीर प्रश्न खडा भएको छ ।

नियामक नियका भएकाले राष्ट्र बैंकलाई अवस्था हेरी कसिलो र खुकुलो नीति बनाउने अधिकार भए पनि त्यो दूरदर्शी र दीर्घकालीन हुनुपर्दछ । ३ महिना पनि नटिक्ने नीतिले वित्तीय क्षेत्रमा सुधार, सकारात्मक प्रभाव भन्दा पनि अस्थिरता, विचलन र नकारात्मक असर पार्ने सम्भावना हुन्छ ।

 

ठूलो आवाज निकाल्ने मोटरसाइकल धमाधम कारबाहीमा, १० हजार दरले जरिवाना Read Previous

ठूलो आवाज निकाल्ने मोटरसाइकल धमाधम कारबाहीमा, १० हजार दरले जरिवाना

एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन