काठमाडौं । सरकारले ७ नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएकाे छ। नेपाल बीमा प्राधिकरणले ७ लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
लघुबीमाका लागि ३१ कम्पनीले आवेदन दिएकोमा प्राधिकरणले ७ वटालाई लाइसेन्स दिएको हो । लाइसेन्स पाउनेमा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा कम्पनी रहेका छन् ।
जीवनतर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले लाइसेन्स पाएका छन् । त्यसैगरी, निर्जीवनतर्फ लाइसेन्स पाउनेमा ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् ।
साविक बीमा समितिले भदौ १० गते ३५ दिने म्याद राखेर हरेक प्रदेशमा एउटा पाउने गरी ७ वटा लघुबीमा कम्पनीके लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । जसमा १५ जीवन र १६ निर्जीवन गरी ३१ कम्पनीले आवेदन दिएका थिए ।
आवेदक कम्पनीहरुको मूल्यांकन गरी प्राधिकरणले हरेक प्रदेशमा १/१ वटा गरी ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । सोही अनुसार बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै सरकारले नयाँ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो ।
