रैथाने खाद्यान्न बालीको मूल्य निर्धारण, प्रतिपाथी कति ?

गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ ।

परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न, ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गरेको हो ।

गाउँ भेलाले पास गरेको उक्त निर्णयविपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुने गरेको रघुगङ्गा–४ का अगुवा तबहादुर शेरपुञ्जाले बताए।

‘बिहीबार सम्पन्न गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ,’ स्थानीय अगुवा धनबहादुर गर्बुजाले भने । गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी रु १५०, कोदो र धान प्रतिपाथी रु २००, जौ प्रतिपाथी रु १५०, गहुँ र उवा प्रतिपाथी रु२०० मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी रु ४००, फापर प्रतिपाथी रु १५०, सिमी प्रतिपाथी रु ६००, आलु र पिँडालु प्रतिपाथी रु १५०, बेसार प्रतिमाना रु १५० र रक्सी जम्बो बोतललाई रु १३० निर्धारण गरिएको छ ।

त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति रु सात सय, हलगोरु ज्याला प्रतिदिनको रु एक हजार, साधारण खेताला ज्याला प्रतिदिनको रु पाँच सय, इलेक्ट्रिसियन ज्याला प्रतिदिनको रु आठ सय, सिकर्मी ज्याला प्रतिव्यक्ति रु आठ सय, सिमेन्ट प्लाष्टर प्रतिव्यक्ति रु आठ सय निर्धारण गरिएको छ ।

त्यस्तै राँगो शुल्क रु आठ सय, गोरु र बोका समारेको रु एक सय, लोकल मह र घिउ प्रतिमाना रु छ सय र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको रु पाँच सय निर्धारण गरिएको गर्बुजाले बताए ।

गाउँमा उत्पादन हुने र बाहिरबाट आयात गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा बिक्रेताको आपसी सम्बन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको पूर्ववडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । रासस

आजदेखि कारोबार खुलेको कुमारी बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कति बढ्यो भाउ ? Read Previous

आजदेखि कारोबार खुलेको कुमारी बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कति बढ्यो भाउ ?

फास्ट ट्रयाकको ठेक्का चिनियाँलाई नदिन माग गर्दै भारतीय कम्पनीद्धार मुद्दा दायर Read Next

फास्ट ट्रयाकको ठेक्का चिनियाँलाई नदिन माग गर्दै भारतीय कम्पनीद्धार मुद्दा दायर