काठमाडौं । आजदेखि कारोबारमा आएको कुमारी बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।
एनसीसी बैंक्सँग मर्जर सम्झौता गरेसँगै असोज १२ गतेदेखि रोक्का रहेको बैंकको सेयर कारोबारमा आएसँगै लगानीकर्ता झुम्मिएका हुन् ।
बैंकको सेयर मूल्य १ वर्ष यताकै सस्तो हुँदा र गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश घोषणा गरेकाले बैंकको सेयरका लगानीकर्ताको आकर्षण देखिएको हो ।
आइतबार १८९.७ रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य १२ बजेसम्म प्रतिकित्ता ११ रुपैयाँ अर्थात् ६ प्रतिशतले बढेर १९७ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अवधिसम्म बैंकको ६३ हजार कित्ता सेयर कारोबार भइसकेको छ भने करिब ६५ कित्ता खरिदका लागि माग भएको छ ।
बैंकको सर्वसाधरण सेयर कारोबार खुले पनि अझै प्रमोटर सेयर भने कारोबार रोक्का छ । कुमारी र एनसीसी बीच गत असोज ११ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।