कर्णाली करिडोरको अझै ८.५ किमी ट्रयाक खोल्न बाँकी, कालोपत्र गर्न डीपीआर हुँदै

काठमाडौं । उत्तरी छिमेकी देश चीन जोड्ने कर्णाली करिडोरको अझै साढे ८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । निर्माण सुरू गरिएको १० वर्ष बिते पनि भौगोलिक कठिनाइका कारण अझै ट्रयाक खोल्ने काम सम्पन्न हुन नसकेको हो

सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी ४९६ किलोमिटरको कर्णाली करिडोर निर्माण २०६९ सालदेखि सुरू गरिएको थियो । सोमध्ये हालसम्म ४८७.५ किलोमिटर ट्रयाक खोलिए पनि अझै ८.५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

आयोजनाका निमित्त प्रमुख वीरेन्द्रकुमार यादवले चीनतर्फको सडक ट्रयाक खोलिसकिए पनि नेपालतर्फको खुलालु–सिमकोटखण्डको २८१ किलोमिटरमध्ये अझै साढे ८ किलोमिटर सडकको ट्रयाक खोल्ने बाँकी रहेको जानकारी दिए ।

हुम्लाको लेरचेदेखि लालिबगरसम्म ट्रयाक खोल्ने काम भइरहेको उनले बताए । ‘ट्रयाक खोल्ने काम अहिले पनि भइरहेको छ । अब जम्मा ८.५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ,’ उनले भने, ‘तोकिएको म्याद अझै १५ महिना छ । त्यतिबेलासम्म ट्रयाक खोलिसकिन्छ ।’ अधिकांश क्षेत्रमा चट्टान फुटाएर ट्रयाक खोल्नुपर्ने अवस्था रहेको उनले बताए ।

कर्णाली करिडोर अन्तर्गतको ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । उक्त खण्डमा कडा चट्टान रहेकाले विष्फोट गर्नुपर्ने भएकाले ट्रयाक खोल्ने जिम्मा सेनालाई दिइएको हो ।

चिनियाँ सीमा हिल्सादेखि सिमकोटसम्मको ९५ किलोमिटर सडकमा २२ वर्षअघिदेखि निर्माणको काम सुरू गरिएको थियो । चीन तिरको पूरै सडक खुले पनि सरकारले कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो ।

हालसम्म २६१ किलोमिटर ट्रयाक खुलिसकेको छ । ट्रयाक खोल्नका लागि २०८० फागुन मसान्तसम्मको समयावधि तोकिएको छ । चालु आव २०७९/८० का लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।हालसम्म यस आयोजनामा १ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ ।

कालोपत्रका लागि कन्सल्टेन्ट हायर

ट्रयाक खोलिसकेको स्थानमा कालोपत्रका लागि कन्सल्टेन्ट हायर गरी डीपीआरको काम भइरहेको आयोजनाका निमित्त प्रमुख यादवले बताए । उनका अनुसार सडक विभागले कालोपत्रका लागि आफै कन्सलटेन्ट नियुक्त गरेर डीपीआरको काम सुम्पेको हो ।

‘निर्माणको काम भइरहेको छ, ट्रयाक खोल्न अझै साढे ८ किलोमिटर जति बाँकी रहेको छ,’ यादवले चाणक्यपोष्टसँग भने ‘ट्रयाक खुलिसकेको ठाउँमा कालोपत्रका लागि कन्सलटेन्ट हायर गरेर डीपीआरको काम सुरू भइसकेको छ ।’

 

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Previous

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थमन्त्री शर्मा २६ हजार बढी मतान्तरले विजयी Read Next

अर्थमन्त्री शर्मा २६ हजार बढी मतान्तरले विजयी