काठमाडौं । पछिल्लो समय नेपालमा होटल व्यवसाय फस्टाउँदै गएको छ । सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरे पछि नेपालमा होटल व्यवसायमा लगानी ह्वातै बढेको देखिन्छ ।
चालू आर्थिक वर्षको अढाई महिनामा मात्र २० वटा नयाँ होटलहरु दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश होटल वैदेशिक लगानीमा निर्माण हुन लागेका हुन् । उद्योग विभागका निर्देशक विनोदकुमार खड्काका अनुसार वैदेशिक लगानीमा बन्न लागेका होटलहरु मध्य धेरै जसो चिनियाँ लगानीमा दर्ता भएका हुन् ।
२०७६ वैशाखदेखि असोज १५ सम्ममा ९ सय ८१ होटल, लज तथा रेष्टुरेन्ट दर्ता भएको पर्यटन विभागले जानकारी दिएको छ । २०७५ बैशाखदेखि चैतसम्ममा १ हजार ७ सय ८७ होटल, लजतथा रेष्टुरेन्ट दर्ता भएका थिए ।
यस अवधिमा दर्ता भएका २० मध्ये १७ वटा होटल तथा रेष्टुरेन्ट वैदेशिक लगानीमा निर्माण हुन लागेको उद्योग विभागले जनाएको छ । यी होटलमा कुल ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ लगानी हुने भएको छ ।
त्यस बाहेक अन्य आन्तरिक लगानीकर्ताबाट निर्माण हुन लागेका हुन् । दर्ता भएका मध्ये १६ वटा होटल काठमाडौंमा बन्ने छन् भने अन्य, कास्की र बाँके जिल्लामा बन्न लागेका हुन् ।
यी हुन् नयाँ होटल
साउनदेखि असोज १५ गतेसम्म उद्योग विभागमा दर्ता भएका होटलमा उड ल्याण्ड होटल एण्ड रिसोर्ट, यीबाओ सिन हस्पिटालिटी, किङ्ग युन होटल, इनटेन्ट नेपाल, होङ टेल, होटल लिफाङ्ग जुअनसिउ होटल विथ रेष्ट्ररेन्ट छन् ।
त्यसैगरी, होङ्गयुन भेजिटेरियन रेष्टुरेन्ट, खादा होटल, माला होटल एण्ड रेष्टुरेन्ट, एस.डब्लु नेपाल होटल, रेलवे होटल एण्ड रेष्टुरेन्ट, हु नान राइस नुडल रेष्टुरेन्ट, बेली होटल एण्ड रेष्टुरेन्ट, सिअङ्ग लु युन होटल, हइयुन होटल विथ रेष्टुरेन्ट, लिगाङ होटल एण्ड रेष्टुरेन्ट रहेका छन् ।
सरकारले गत आवमा ८२ तारे होटल थप्ने लक्ष्य राखेकोमा यस अवधिमा १ सय ५३ तारे होटल थप भएको विभागले जनाएको छ ।
अन्तर्राष्ट्रिय लगानीमा उपत्यकामा ५ रेष्टुरेन्ट दर्ता
चालू आर्थिक वर्षको अढाई महिनामा अन्तर्राष्ट्रिय लगानीमा ५ वटा रेष्टुरेन्ट दर्ता भएका छन् । दर्ता भएका ५ वटै रेष्टुरेन्ट वैदेशिक लगानीमा बन्न लागेका हुन् । हाई पोटाटो, हु नान स्टीम्ड फूड म्यूजियम, यीबाओ सिन हस्पिटालिटी, अबु रेष्टुरेन्ट, चेन सिङ्ग रेष्टुरेन्ट र फलो वनस इक्लिनेशन्स रेष्टुरेन्ट दर्ता भएका हुन् ।
यी रेष्टुरेन्टहरु मध्य एउटा ललितपुरमा निर्माण गरिन लागेको हो भने अन्य सबै काठमाडौंमा बन्न लागेका हुन् । ६५ करोड लगानीमा यी रेष्टुरेन्ट निर्माण हुन लागेका हुन् । यी सबै होटल अन्तर्राष्ट्रिय लगानीमा बन्न लागेका हुन् ।
२०७६ वैशाखदेखि असोज १५ सम्ममा ९ सय ८१ होटल, लज तथा रेष्टुरेन्ट दर्ता भएको पर्यटन विभागले जानकारी दिएको छ । २०७५ बैशाखदेखि चैतसम्ममा १ हजार ७ सय ८७ होटल, लजतथा रेष्टुरेन्ट दर्ता भएका थिए ।
२०७४ बैशाखदेखि चैतसम्ममा १ हजार २ सय ९६ होटल, लज तथा रेष्टुरेन्ट दर्ता भएका थिए ।
२०२० पर्यटन वर्षमा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा भारतीय पर्यटक सहित नेपालमा पर्यटकको संख्या ११ लाख ७३ हजार पुगेको थियो । नेपालमा आउने पर्यटकहरु १२ दिनदेखि १५ दिनसम्मको बसाई गर्ने गरेको पर्यटन मन्त्रालयको तथ्यांकले देखाउँछ ।
यसरी बढ्दो होटल व्यवसायले नेपालमा पर्यटनको संभावना र आवश्यक पूर्वाधारमा सहयोग पुग्ने सरोकारवाला निकायको बुझाई छ ।