Advertisement Section

नागढुंगा-नौबिसे सुरुङमार्ग तोकिएकै समयमा पूरा नहुने, म्याद थप्न प्रस्ताव

Advertisement Section

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न नहुने भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद ६ महिना मात्रै बाँकी रहँदा आधा पनि काम नसकिएपछि म्याद थप्नु पर्ने भएको हो ।

कोभिडका कारण थपिएको ३ महिनासहित अब आयोजनाको म्याद जम्मा ६ महिना अर्थात् जेठसम्म बाँकी छ । अझै ५५ प्रतिशत काम बाँकी रहेकाले सो समयमा सम्पन्न हुन नसक्ने भएपछि आयोजनाले म्याद थप्न प्रस्ताव गरेको छ ।

सुरुङमार्ग निर्माण सुरु गरिएको ३ वर्षमा ४५ प्रतिशत भौतिक र ४८.८३ प्रतिशत वित्तीय प्रगति भएको छ । ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७६ कात्तिकबाट निर्माण सुरु भएको सुरुङमार्गको ६ देखि ९ महिना म्याद थप गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनका प्रवक्ता रमेश कोइरालाले सुरुङ निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा(आन्द्रो जेभीले तोकिएको समयमा काम नसकिने भन्दै म्याद थपको माग गरेको बताए ।

‘कोभिड लगायतका कारण ढिलाइ हुँदा आयोजनाको काम सक्न अझै १ वर्ष लाग्नसक्ने देखिन्छ,’ उनले भने, ‘तोकिएकै समयमा नसकिने भएपछि अब म्याद थप्नुको विकल्प छैन । कम्पनीले ६ देखि ९ महिना म्याद थप्न प्रस्ताव गरेको छ ।’

३ वर्षमा आधा पनि सकिएन काम

नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण थालिएको ३ वर्ष बिते पनि हालसम्म आधा पनि काम सकिएको छैन । कात्तिक मसान्तसम्म सुरुङमार्ग खन्ने काम ६७ प्रतिशत पूरा भए पनि समग्र भौतिक प्रगति ४५ प्रतिशत मात्र रहेको छ ।

आयोजनाका अनुसार कात्तिक २२ गतेसम्म सुरुङ खन्ने काम ६७.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर (क्रस प्यासेजसहित)मध्ये हालसम्म ३ हजार ७०२.८० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

प्रवक्ता कोइरालाका अनुसार मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये १ हजार ६४२ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७९५.६० मिटर र धादिङतर्फ ८४६.४० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा १ हजार ८६० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार मिटर र धादिङतर्फ ८६० मिटर सुरुङ खन्ने काम पूरा भएको उनले जानकारी दिए ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१मिटर निर्माण गरिएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ७९७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

नेशनल लाइफको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Previous

नेशनल लाइफको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

ललितपुर-३ बाट तोसिमा कार्की १८ हजार मतान्तरले विजयी Read Next

ललितपुर-३ बाट तोसिमा कार्की १८ हजार मतान्तरले विजयी