
काठमाडौं । चालु आर्थिक वर्षको चार महिना(साउन– कात्तिक)मसान्त सम्ममा नेपालको व्यापार घाटा चार खर्ब ७७ खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको वर्षको सोही अवधिको तुलनामा चालु आवमा १५.८८ प्रतिशतले व्यापार घाटा घटेको हो ।
गत वर्षको कात्तिक मसान्तसम्म ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा चालु वर्ष भने घटेर ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।यस आवमा वैदेशिक व्यापारको हिस्सा पनि घटेको विभागले जनाएको छ ।
गत वर्षको कात्तिक मसान्तसम्म ७ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा यस वर्ष १९७९ प्रतिशतले घटेर ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ ।
चालु वर्ष १८.०८ प्रतिशतले आयात घटेको छ । विभागका अनुसार यस अवधिमा ४५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।
निर्यात पनि ३३.३० प्रतिशतले घटेर ५४ अर्ब ७७ करोड रुपैयाँमा सिमित भएको छ । सरकारले विदेशी विनिमय संचिति घटेको भन्दै गत वैशाखदेखि कतिपय वस्तुको आयातमा कडाइ गरेको छ ।
हालसम्म गाडी आयात खुलाइएको छैन् । व्यापार घाटामा आयात प्रतिबन्धको सकारात्मक प्रभाव देखिएपनि निर्यात पनि उच्च अंकले घटेको सरकारी तथ्यांकले देखाउँछ ।
वित्तीय प्रणालीमा तरलता अभावका कारण उद्योग व्यवसायमा नयाँ लगानी थपिएको छैन् भने ब्याजदर तथा मूल्य वृद्धिका कारण लागत बढ्दा सञ्चालनमा रहेका उद्योगहरु पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।
आन्तरिक उत्पादन नबढ्दा निर्यातको हिस्सा घटेको छ भने आयातमा गरिएको कडाइले वस्तुको आयात पनि घटेको देखिन्छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको अनुपात ९०.६८ प्रतिशत रहेको छ भने निर्यात ९.७३ प्रतिशत छ ।
बढ्दो व्यापार घाटाले अर्थतन्त्रमा चुनौती थपेको निष्कर्ष सहित नेपाल राष्ट्र बैंकले नीतिगत कडाइ गदै आएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।
भारतसँग मात्र तीन खर्ब व्यापार घाटा
नेपालको व्यापार घाटाको हिस्सा सबैभन्दा धेरै भारतसँग छ । पछिल्लो चार महिनामा भारतबाट नेपालले ३ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ३८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस अवधिमा नेपालले भारतसँग मात्र २ खर्ब ८३ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।
चीनसँग नेपालको व्यापार घाटा ७४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । इन्डोनेसियासँग १७ अर्ब,अर्जेन्टिना १३ र युएईसँग १२ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।
यी हुन् सबैभन्दा धेरै आयात गरिएका १० वस्तु
कात्तिक मसान्तसम्म ५ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको वस्तु आयातबाट सरकारले १ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै ४४ अर्ब २८ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यसवापत सरकारले १४ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा २३ अर्ब ६९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।
पेट्रोल आयातबाट सरकारले १२ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । खाना पकाउने एलपीजी ग्याँस १८ अर्ब रुपैयाँ बढीको आयात भएको छ भने फलामजन्य कच्चापदार्थ १२ अर्ब, कच्चा सोयाविन तेल र पाम तेल ११/११ अर्ब रुपैयाँ बढीको आयात भएको छ ।
यसैगरी, स्टीलजन्य वस्तुहरु १० अर्ब रुपैयाँ बढीको आयात भएको छ ।