काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार खुल्ने बित्तकै २१ अंकले बढेको नेप्से अन्त्यमा ७ अंकले घटेर बन्द भएको हो ।आज नेप्सेमा ३० अंकको उतरचढाव भएको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सवा १ अर्ब बढीको सेयर किनबेच भएको छ ।
मंगलबार नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब २८ करोड रुपैयाँ बढीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक र अन्य समूह सबैभन्दा धेरै समान १.४४ प्रतिशतले घटेको छ ।
आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर ८ करोड ६७ लाख र हिमालयन डिस्ट्रीलरी साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज युनिलिभर नेपालका सेयरधनीले सर्वाधिक ५.५८ प्रतिशत गुमाएका छन् । त्यस्तै, सिक्लेस, दोर्दी र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।