१३ वर्षमा पनि लागेन हुलाकी राजमार्गको ठेक्का, अझै २५० किमीको बाँकी

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत हुलाकी राजमार्ग निर्माण सुरू भएको १३ वर्ष बिते पनि अझै ठेक्का पूरा हुन सकेको छैन । १ हजार ७९२ किलोमिटर लामो यस सडकमध्ये अझै २५० बढी किलोमिटरको ठेक्का लाग्न बाँकी रहेको छ ।

आयोजनाका प्रमुख धम्रेन्द्र कुमार झाका अनुसार हुलाकी सडकको अझै २५० किमी सडक र ६०/७० हाराहारीमा पुलको ठेक्का लाग्न बाँकी रहेको छ । हाम्म ९०० किलोमिटर कालोपत्र भइसकेको छ । कुल २५० पुल मध्ये हालसम्म १३० वटा पुलको निर्माण पूरा भइसकेको छ ।

उनले ठेक्का लाग्न बाँकी सडक र पुलको चालु आर्थिक वर्ष भित्रै ठेक्का लगाइने बताए । ‘ठेक्का लागेको सडकखण्डमा काम भइरहेको छ । ठेक्का नलागेका सडक र पुलको ठेक्का यही वर्ष भित्र लगाउने छौँ,’ झाले चाणक्य पोष्टसँग भने ।

उनले यो सडक आयोजना पूरा हुन अझै २ वर्ष लाग्ने बताए । आयोजना अन्तर्गत हालसम्म ६१.१२ प्रतिशत भौतिक प्रगति भएको छ । हालसम्म ५२ अर्ब बढी खर्च भइसकेको उनले जानकारी दिए ।

आव २०६६/६७ देखि निमार्ण सुरु गरिएको यो सडकको म्याद २०७९/८० सम्म रहेको छ । तोकिएको म्याद पूरा हुन अब ६ महिनामात्रै बाँकी रहे पनि अझै एकतिहाई बढी काम बाँकी छ ।

यस आयोजनाको निर्माण लागत ६५ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ ।

संघिय सरकारको निर्माण पछि यस आयोजनाको गति सुरुको निकै सुस्त देखिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको ऋण परिचालन गरी २०६६ मा सुरु गरिएको यो आयोजना अझै कहिले सम्पन्न हुने टुंगो लाग्न सकेको छैन ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण सीमावर्ती क्षेत्रबाट समानान्तर रूपमा चल्ने यो राजमार्गले पूर्व झापाको केचनाकवललाई पश्चिम कञ्चनपुरको चाँदनी दोधारासँग जोड्नेछ ।

५ वर्षको प्रगति

आर्थिक वर्ष २०७४/७५ सम्ममा सय किलोमिटर सडक कालोपत्र भएको थियो । १९५ किलोमिटर सडक ग्राभेल भएको थियो भने ७५ वटा पुल निर्माण सम्पन्न भएको थियो । हुलाकी राजमार्ग आयोजनामा आर्थिक वर्ष २०७४/७५ मा ६५ किलोमिटर सडक ग्राभेल भएको थियो । १० वटा पुलको निर्माण सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा ६९ किलोमिटर सडक कालोपत्र भएको छ । सो वर्ष १४० किलोमिटर सडक ग्राभेल भएको थियो । सो वर्ष २ वटा पुल निर्माण सम्पन्न भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा यस आयोजना अन्तर्गत १४२.५ किलोमिटर सडक कालोपत्र भएको थियो । सो वर्ष २०० किलोमिटर सडक ग्राभेल भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा १४६ किलोमिटर र  ४ वटा पुल निर्माण सम्पन्न भएको थियाे भने  २०७८/७९ मा ८१ किलोमिटर सडक कालोपत्र र ५ वटा पुल निर्माण भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा कुल ८१८ किलोमिटर सडक कालोपत्र भएको थियो भने ११५ पुल निर्माण पूरा भइसकेको थियो ।

एनआइसी एशिया बैंकका ग्राहकले भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सक्ने Read Previous

एनआइसी एशिया बैंकका ग्राहकले भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सक्ने

प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?