४८ लघुवित्तको नाफा घट्याे, १३ वटा घाटामा, कुनले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्त संस्थाहरूले सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा लघुवित्त संस्थाहरुको खुद नाफा औसतमा ३९.२७ प्रतिशतले घटेको छ ।

संचालनमा रहेका ६४ वटा लघुवित्त मध्ये हालसम्म ५७ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सोमध्ये ४८ लघुवित्तको नाफा घटेको छ भने १३ वटा घाटामा गएका छन् । जम्मा ९ वटा लघुवित्तको मात्र खुद नाफा बढेको छ ।

असोज मसान्तसम्म ५७ वटा लघुवित्तले कुल १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ११ करोड कम हो । गत वर्ष पहिलो त्रैमासमा यी लघुविवत्तहरुले कुल २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत वर्षदेखि वित्तीय प्र्रणालीमा कायम तरलता अभाव, ब्याजदर वृद्धि तथा सेयर बजारमा आएको गिरावटका कारण लघुवित्तहरू संकटमा परेका हुन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतको क्याप लगाएको छ । जबकी वाणिज्य बैंकले निक्षेपमै त्योभन्दा बढी ब्याज दिइरहेका छन् । बैंकबाट महंगो ब्याजदरमा ऋण लिएर सस्तो ब्याजमा लगानी गर्नुपरेपछि लघुवित्तहरूले नाफा आर्जन गर्न सकेका छैनन् ।

नेपाल लघुवित्त बैंकर्स संघका महासचिव तथा नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव महंगोमा ब्याज लिएर सस्तोमा लगानी गर्नु परेको तथा कर्जा रिकर्भर नहुँदा संस्थाहरूको नाफामा गिरावट आएको बताउँछन् ।

‘धेरेजसो लघुवित्तको नाफा घटेको छ, यसको प्रमुख कारण भनेको नियामकले लगाएको १५ प्रतिशत ब्याजदरको क्याप नै हो । महंगोमा रकम लिएर सस्तो ब्याजमा लगानी गर्नुपरेको छ’ उन चाणक्य पोष्टसँग भने, ‘अर्को भनेको आर्थिक गतिविधि संकूचन हुँदा तरलता अभाव छ । जसको कारण मानिसले लिएको कर्जा फिर्ता दिन सकेनन् । लगानी गरेको सबै रकम रिकर्भरगर्न पनि सकिएको छैन ।’

लागत वृद्धिको प्रभाव संस्थाहरूको व्यवसायमा देखिएको उनले बताए । नियामकले लघुवित्तको ब्याजदरमाथि लगाएको क्याप हटाउनु पर्ने उनको भनाइ छ ।

अहिले बैंकको कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी पुगेको छ भने आधारदर दोहोरो अंकमा छ । लगात वृद्धिले खुद नाफा वृद्धिको दबाबमा रहेका वाणिज्य बेंकको नाफा पनि उल्लेख्य रुपमा बढ्न सकेको थिएन् ।

अधिकांश विकास बैंकको नाफा घटेको छ भने फाइनान्स र माइक्रो फाइनान्समा यस्तो समस्या झनै देखिएको छ । नियामकीय नीति तथा व्यवसायमा आएको संकूचनले लघुवित्त लगातार घाटामा गइरहेको लघुवित्त कर्मिहरू बताउँछन् ।

एक दर्जन बढी लघुवित्त घाटामा, ९ वटाको मात्र नाफा बढ्यो

समीक्षा अवधिमा ५७ लघुवित्तमध्ये १३ वटा लघुवित्त घाटामा गएका छन् भने ९ वटाको मात्र नाफा बढेको छ । सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था ४ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोही अवधिमा १ कारोड १९ लाख खुद नाफा आर्जन गरेको यस संस्थाको नाफामा ४६४ प्रतिशतले गिरावट आएको छ ।सबैको लघुवित्त वित्तीय संस्था २ करोड ९६ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्ष ९ करोड बढीले खुद नाफा कमाएको ग्रामीण विकास लघुवित्त ११२ प्रतिशतले घटेर १ करोड बढी घाटामा गएको छ । यसैगरी, एनएमबी माइक्रोफाइनान्स ८० लाख,जनउत्थान समुदायिक लघुवित्त ७६ लाख,स्वाभिमान ६७ लाख, गुँरास ६० लाख, मनकामना ४३ लाख, लक्ष्मी ४१ लाख, वीन नेपाल २३ लाख ७१ हजार, युनिक २२ लाख,जाल्पा सामुदायिक १० र खप्तड लघुवित्त ४ लाख खुद नोक्सानीमा गएका छन् ।

सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त पहिलो स्थानमा छ । यस संस्थाले ५३.७१ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको पहिलो तीन महिनामा २१ करोड ४१ लाख ५ हजार रुपैयाँले नाफा कमाएको यस लघुवित्तले चालु वर्षको सोही अवधिमा ३२ करोड ९१ लाख रुपैयाँले खुद नाफा कमाएको छ ।

दोस्रोमा साना किसान विकास लघुवित्तले ४१.३४ प्रतिशतले नाफा बढाएर २३ करोड २७ लाख रुपैयाँ पुर्याएको छ । इन्फिनिटी लघुवित्तले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जीवन विकासले १४ करोड, आरएमडीसी र नेशनल माइक्रो फाइनान्सको खुद नाफा १० करोड बढी पुगेको छ ।

गणपति र आरएसडीसी आक्रामक

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा गणपति लघुवित्त पहिलो स्थानमा छ । यस लघुवित्तले १५४ प्रतिशतले नाफा बढाएर ६८ लाख पुर्याएको छ । दोस्रोमा आरएसडीसी लघुवित्तले १०२ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

यस संस्थाले खुदनाफा ३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा संस्थाले १ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यसैगरी, आरएमडीसी र छिमेकी लघुवित्तले ५० प्रतिशत बढीले खुद नाफा बढाएको तथ्यांकले देखाउँछ ।

 

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

१ वर्षमा थपिए साढे ७ लाख करदाता Read Next

१ वर्षमा थपिए साढे ७ लाख करदाता