काठमाडौं । विगत १ वर्षमा नेपालमा वित्तीय पहुँचको क्षेत्रमा सामान्य सुधार आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । वि. सं. २०७५ सालको साउन महिना देखि २०७६ सालको साउन महिनासम्मा वित्तीय पहुँचका विभिन्न क्षेत्रमा सामान्य सुधार देखा परेको हो ।
१ वर्षमा राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजत प्राप्त संस्थाहरुको शाखा कार्यालय ४ हजार २ सय ६५ बाट बढेर ५ हजार १ सय ३८ पुगेको छ ।

निक्षेप खाताहरुको संख्या २ करोड ३५ लाख बाट बढेर २ करोड ७८ लाख पुगेको छ । यो भनेको करिब १८ प्रतिशतको बढोत्तरी हो । यसैगरी ऋण खाताहरुको संख्या १३ लाख १ हजारबाट बढेर १४ लाख ३९ हजार पुगेको छ ।
यो भनेको करिब १० प्रतिशतको सुधार हो । यसले नेपालका वित्तीय संस्थाहरुबाट ऋण लिन भने त्यति सहज नरहेको तर्फ नै संकेत गर्दछ । साना तथा मझौला उद्योग व्यवसायहरुको ऋण नपाएको र सहकारी तर्फ मोडिएको घटनाहरु सामान्य नै लाग्छन् ।

निक्षेप र ऋण खाताहरुको उल्लेख्य संख्या भने ‘क’ वर्गका वित्तीय संस्थाहरुमै रहेको पाइन्छ । ‘क’ वर्गको बैंकहरुका ०७६ साउनसम्म २ करोड २९ लाख निक्षेप खाताहरु रहेका छन् भने १० लाख ४७ हजार ऋण खाता रहेका छन् ।
यसैगरी सबै बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा रहित बैंकिङ केन्द्र १२ सय ८५ बाट १५ सय ३० पुगेका छन् भने त्यस्ता शाखा कार्यालयबाट सेवा लिइरहेका ग्राहकहरुको संख्या १ लाख ३० हजारबाट १ लाख ६८ हजार पुगेको छ ।

०७५ सालको साउनसम्म मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः ५० लाख ८६ हजार र ८ लाख ३४ हजार थियो भने ०७६ सालको साउनसम्म अर्थात १ वर्षको अवधीसम्ममा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरको संख्या ८३ लाख ४७ हजार र ९ लाख १७ हजार पुगेको छ ।
एटीएमको संख्या १ वर्षमा २७ सय ९१ बाट बढेर ३३ सय १६ पुगेको छ । यसैगरी डेबिट कार्ड र क्रेडिट कार्डको संख्या पनि विगत १ वर्षमा क्रमशः ५५ लाख ४४ हजार र १ लाख ४ हजारबाट बढेर ६७ लाख ८ हजार र १ लाख २३ हजार पुगेको छ । प्रिपेड कार्डको संख्या भने ९६ हजार ८ सयबाट घटेर ६७ हजार ३ सयमा आइपुगेको छ ।
