‘ट्रयाक’मा आउँदै अर्थतन्त्र, यस्ता छन् मुख्य सूचक

काठमाडौं । अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकको कडाइ र आयात लगाइएको प्रतिबन्धपछि गत वर्षदेखि ओरालो लागेको अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरूमा सुधार आएको देखिएको छ ।

विदेशी विनिमय संचिति, डलर संचिति, रेमिट्यान्स आप्रवाह, शोधान्तर स्थिति, व्यापार घाटा लगायत मुख्य सूचकमा सुधार आएको छ । यद्यपि, मुद्रास्फीतिदर भने बढ्दो छ ।

विदेशी पर्यटकको आगमनमा वृद्धि हुनु, सरकारले आयातमा कडाइ गर्नु लगायत कारणले अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका हुन् । यद्यपि, अहिले पनि चरम तरलता अभाव र ब्याजदर वृद्धिले अहिले उद्योग, व्यवसाय समस्यामा छन् । बैंकहरुले अचाक्ली ब्याज बढाएको भन्दै व्यवसायीहरु आन्दोलनमै उत्रिएका छन् । पूँजी अभावका कारण नयाँ उद्योगधन्दा खुल्न सकेका छैनन् ।

चरम निराशाका बीच राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने केही आशाका किरण प्रवाह गरेको छ ।

रेमिट्यान्स आप्रवाह १७ प्रतिशतले बढ्यो

असोज महिनामा रेमिट्यान्स आप्रवाह १७ प्रतिशतले बढेको छ । गत वर्षदेखि रेमिट्यान्स आप्रवाहमा भएको गिरावटले अर्थतनत्रको बाह्य क्षेत्रमै चुनौती ल्याएको थियो । यस वर्ष भने त्यसमा सुधार आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

यस अवधिमा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७हजार ९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

१३ प्रतिशतले घट्यो व्यापार घाटा

समीक्षा अवधिमा व्यापार घाटामा पनि सुधार आएको छ । विलासी वस्तु आयातमा लगाइएको प्रतिबन्धका कारण व्यापार घाटा केही घट्न पुगेको हो ।

तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई रु.३५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई रु.४०१ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।

चालु आवकाे तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आई रु.४१ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

विदेशी विनिमय सञ्चितिमा सुधार

राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १२४६ अर्ब २२ करोड पुगेको छ ।

जसले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । यस्तै, डलर संचितिमा पनि केही सुधार आएको छ । भदौको तुलनामा डलर संचिति १३ करोडले बढेर ९ अर्ब ४८ करोड डलर पुगेको छ ।

चालु खाता र शोधनान्तर स्थितिमा सुधार

गत वर्षको तुलनामा यस आवको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।

समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

यस्तै, यस अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो ।

महँगी भने बढ्दो

अन्य सूचकमा सुधार देखिए पनि मँहगी भने उकालो लाग्दो छ । सरकारले चालु आवमा ७ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने लक्ष्य लिएपनि लगातार महंगी भने बढ्दै गएको छ । चालु वर्षको असोज मसान्तसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा दोब्बर बढी हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फल फूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

 

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर जहाजको परीक्षण उडान, भाडा घट्ने Read Next

सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर जहाजको परीक्षण उडान, भाडा घट्ने