सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर जहाजको परीक्षण उडान, भाडा घट्ने

काठमाडौं । कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटीआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर–७२ जहाजमार्फत काठमाडौँबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।

सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान भएको र उक्त उडानको प्रतिवेदनपश्चात् आगामी जनवरीदेखि नियमित उडान गर्ने बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले बताए । कम्पनीले अहिले ४७ सिट क्षमताको एटीआर–४२ जहाजमार्फत सुर्खेतमा दैनिक एक उडान गर्दै आएको छ ।

सुर्खेत विमानस्थलमा ठूला जहाजमार्फत हुने उडानले कर्णाली प्रदेशको समग्र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । एटीआरआर जहाजमार्फत काठमाडौँ–सुर्खेत सफल परीक्षण उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सुर्खेत विमानस्थलमा एटीआरआर जहाजको उडान हुने बित्तिकै उक्त गन्तव्यको हवाई भाडा सस्तो हुनाका साथै यात्रुलाई सहज हुने विश्वास व्यक्त गरे ।

हाल काठमाडौँदेखि सुर्खेतसम्मको हवाई भाडा रु १४ हजारसम्म रहेको छ । ठूलो जहाजले उडान सञ्चालन गरेपछि उक्त गन्तव्यमा आधाजस्तो भाडा सस्तो हुने प्रवक्ता निरौलाले बताए । ठूला जहाजमार्फत उडान सञ्चालनका लागि सुर्खेत विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि कोभिड–१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो । कोभिडका कारण पछि उक्त गन्तव्यमा उडान हुन सकेको थिएन । बजारको अवस्था हेरेर छिट्टै सुर्खेत गन्तव्यमा उडान सञ्चालनको योजना रहेको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए ।

बुद्ध एयरको नियमित उडानपश्चात् निजी क्षेत्रको यती एयरको एटीआरआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले परीक्षण उडान सफल भएपश्चात् सुर्खेतमा एटीआर जहाजले उडान गर्ने योजना रहेको बताए । यती एयरलाइन्ससँग छ थान एटीआर जहाज छन् ।

यस्तै श्री एयरलाइन्सले आन्तरिक उडानमा ८० सिट क्षमताको चार ‘ड्यास एट’–८ क्यू ४०० र एक सिआरजे जेट विमान गरी कुल पाँच जहाजमार्फत उडान गर्दै आएको छ ।

बुद्ध एयरले सन् २०१३ को फेबु्रअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेपश्चात् विगत ५ वर्षदेखि एटीआरआर ४२ (४७) जहाजबाट नियमित उडान सञ्चालन गर्दै आएको छ ।

सुर्खेत उडान गर्ने यात्रुको मागअनुरुप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसात् गर्दै एटीआरआर–७२ मार्फत उडान सञ्चालन आवश्यकता महसुस भएको तथा हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेकाले यात्रुको सहजताका लागि यात्रुलाई कम भाडादरका साथै थप सिट उपलब्ध गराई सेवा अझ विस्तार गर्ने उद्देश्यले प्राधिकरणको सहयोग र सहकार्यमा एटीआरआर ७२ विमानमार्फत आज परीक्षण उडान सम्पन्न गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

टेस्ट फ्लाइटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटीआरआर–७२ विमानमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । एटीआरआर–७२ जहाजमार्फत उडान सञ्चालन गर्दा यात्रुलाई प्रत्यक्ष लाभ महसुस हुने गरी नेपालगञ्ज सेक्टर हाराहारी न्यूनतम भाडादर कायम हुने कम्पनीका वरिष्ठ कार्यकारी प्रबन्धक पाण्डेले बताए ।

 

'ट्रयाक'मा आउँदै अर्थतन्त्र, यस्ता छन् मुख्य सूचक Read Previous

'ट्रयाक'मा आउँदै अर्थतन्त्र, यस्ता छन् मुख्य सूचक

हेटौंडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन Read Next

हेटौंडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन