काठमाडौं । चरम तरलता अभाव भोगिरहेका बैंकहरूको कर्जा लगानी सुस्त भएको छ । एकातिर लगानी योग्य रकमको अभाव र अर्कोतिर पैसा भए पनि कर्जाको माग नहुँदा बैंकको व्यवसाय विस्तार ठप्पप्रायः भएको छ ।
बैंकहरूले असोजदेखि महिनैपिच्छे ब्याजदर बढाउँदै आएका छन् । अहिले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । एक वर्षको अवधिमै बैंकको ब्याजदर दोब्बर बढी भएपछि अहिले कर्जाको माग ठप्पप्रायः भएको बैंकरहरू नै बताउँछन् ।
गत वर्षको पहिलो ४ महिनामा मात्रै साढे ३ खर्ब बढी कर्जा लगानी गरेका बैंकहरूले चालु आवमा आधा खर्ब पनि कर्जा लगानी गर्न सकेका छैन । चालु आवको सुरूका महिनामा कर्जाको माग भए पनि लगानी योग्य रकम नहुँदा बैंकहरूले ऋण दिन सकेका थिएनन् भने अहिले पैसा भए पनि ऋणको माग शून्यप्रायः छ ।
महँगो ब्याजमा ऋण लिएर उद्योग, व्यवसाय चलाउन नसक्ने व्यवसायीहरू बताउँदै आएका छन् । पछिल्लो एक महिना यता व्यवसायीहरू बैंकले अचाक्ली ब्याज बढाएको भन्दै आन्दोलनमा समेत उत्रिएका छन् ।
नेपाल राष्ट्र बैंकले नै ब्याजदर बढाउन उक्साएपछि बैंकहरूले असोजमा निक्षेपको ब्याजदर बढाएका थिए । निक्षेपको ब्याजदर बढेसँग बैंकको लागत बढ्दा अहिले बेसरेट नै दोहोरो अंकमा पुगेको छ भने प्रिमियम जोड्दा कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ ।
गत आवको पहिलो त्रैमासमा आक्रामक कर्जा लगानी गरेका वित्तीय संस्थाहरूले समीक्षा अवधिमा लगानी गर्न नसकेका हुन । प्रणालीमा कायम स्रोत अभाव र नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंक तथा वित्तीय संस्थाले उल्लेख्य व्यवसाय विस्तार गर्न सकेका छैनन् ।
गत आवको पहिलो चार महिनामा लक्ष्यको आधा अर्थात ३ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूले यस वर्षको कात्तिक मसान्तसम्म आधा खर्ब पनि लगानी गर्न सकेका छैनन् । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको चार महिनामा ३८ अर्ब रुपैयाँले मात्र कर्जा लगानी गरेका छन् ।
‘बैंकको व्यवसायमै धक्का पुग्नसक्छ’
राष्ट्र बैंकले चालु वर्षमा निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य साढे १२ प्रतिशत राखेको थियो । प्रणालीमा यही ?पमा स्रोत अभाव कायम रहे सो लक्ष्य पूरा नहुने बैंकरहरू बताउँछन् ।
बैंकहरूले अझै तरलता समस्या भोगिरहेको र कर्जाको माग बढ्न नसक्दा व्यवसायमै धक्का पुग्ने बैंकर्स संघका एक पदाधिकारीले बताए । ‘पहिलो कुरा भनेको आजको दिनमा बैंकसँग ठूलो ऋण दिनसक्ने स्रोत छ जस्तो लाग्दैन,’ उनले भने, ‘बैंकसँग ऋण दिनसक्ने क्षमता छैन भन्ने थाहा पाएरै होला माग पनि बढेको छैन । यसले व्यवसायमा धक्का पुग्ने देखिन्छ भने कर्जा विस्तारको लक्ष्य पनि पूरा होला जस्तो लाग्दैन ।’
ब्याजदर वृद्धिले पछिल्लो समय ऋणीले कर्जा तिर्न सकेका छैनन् । जसको कारण बैंकको प्रोभिजनिङ स्रोत समेत बढेको छ अर्कोतर्फ कर्जाको माग पनि सोही अनुसार घटेको उनले बताए ।
गत आवको दोस्रो त्रैमासदेखि लगानीयोग्य रकम अभाव भोगिरहेका बैकहरूले त्यसयता व्यवसाय विस्तार गर्न सकेका छैनन् । अर्थतन्त्रमा आएको असन्तुलनले बजारमा महंगी मात्र नभएर माग पनि घटेको छ । एकतिर अपेक्षित रूपमा निक्षेप बढ्न सकेको छैन भने अर्कोतर्फ ब्याजदर वृद्धिले कर्जाको माग घट्दो छ ।
स्रोत अभावका कारण बैंकहरूले गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य पूरा गर्न सकेका थिएनन । यस वर्ष भने राष्ट्र बैंकले जथाभावि कर्जा विस्तार रोक्न कर्जा विस्तारको आकार घटाएको थियो ।
राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति मार्फत १९ प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएको थियो । तर, प्रणालीमा तरलता अभावले सो लक्ष्य पूरा हुन सकेन । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकले त्यस अवधिमा निजी क्षेत्र तर्फ ७ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य लिए पनि त्यो पूरा गर्न सकेनन् ।
गत आवको असाढ मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन र ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए ।राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक २७ सम्म आइपुग्दा बैंकहरूको निक्षेप संकलन ४५ खर्ब ४६ अर्ब रुपैयाँ छ भने कर्जा लगानी ४२ खर्ब १२ अर्ब पुगेको छ ।