नक्कली सुन धितो राखी बैंकबाट २४ लाख ऋण

पोखरा । नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार सुनारले धितोमा राखेर कर्जा लिएको र लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएका कारण शङ्का लागि जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुलासा भएको थियो ।

अनुसन्धानका क्रममा निजले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा जाँचका लागि पठाइएको र कमसल सुन प्रयोग गरी बनाइएको गहना भन्ने पुष्टि भएपछि प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

सुनारले पोखरा–१७ बिरौटास्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र पोखरा–८ पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट रु २४ लाख ५ हजार कर्जा लिएका थिए ।

सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए ।

अनुदान दिँदा पनि किन देखिएन कृषि बीमामा आकर्षण ? Read Previous

अनुदान दिँदा पनि किन देखिएन कृषि बीमामा आकर्षण ?

चुनाव प्रचार डलरमा :  नेताले गरे ६७ हजार डलर खर्च, कसले कति ? Read Next

चुनाव प्रचार डलरमा : नेताले गरे ६७ हजार डलर खर्च, कसले कति ?