साना किसान लघुवित्तले कमायो २ वाणिज्य बैंककोभन्दा धेरै नाफा, ईपीएस कति ?

काठमाडौं । साना किसानको लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४१.८३ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ७ करोड रुपैयाँ बढी हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा १६ करोड ४१ लाख खुद नाफा कमाएको थियो ।

साना किसानले चालु आवको पहिलौ त्रैमासमा कमाएको खुद नाफा २ वटा वाणिज्य बैंककोभन्दा धेरै हो । लघुवित्तले कमाएको नाफा कृषि विकास र सनराइजको बैंककोभन्दा धेरै हो । यी २ बैंकले पहिलो त्रैमासमा २३ करोडभन्दा कम नाफा कमाएका थिए ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएसँगै लघुवित्तको खुद नाफामा छलाङ आएको हो । समीक्षा अवधिमा साना किसानको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशतले बढेर ४३ करोड ९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ४१.६० प्रतिशतले बढेर ३३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म लघुवित्तले १ अर्ब ३२ करोड निक्षेप संकलन र १७ अर्ब ७७ करोड सापटी लिई गरी २९ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल १ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १ अर्ब ४९ करोड, सेयर प्रिमियममा १ करोड ८२ लाख र जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा साना किसानको प्रतिसेयर आम्दानी ६.८८ रुपैयाँ बढेर ५९.५२ रुपैयाँ पुगेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २८२.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१० गुणा, खराब कर्जा ०.७५ प्रतिशत रहेको छ ।

 

पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई र बीओके बीच मर्जरको अन्तिम सम्झौता, आधा खर्बको बैंक बन्दै Read Next

ग्लोबल आइएमई र बीओके बीच मर्जरको अन्तिम सम्झौता, आधा खर्बको बैंक बन्दै