Advertisement Section

‘फेवाताल’को झल्को मेट्ने शिवपुरीको ‘विशाल ताल’ (फोटोफिचर)

Advertisement Section

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्ज हाइकिङका लागि प्रसिद्ध छ । काठमाडौं उपत्यकामा वरिपरीका पर्यटकीय गन्तव्यमध्ये यो सबैभन्दा धेरै हाइकिङ गरिने क्षेत्र पर्दछ ।

राष्ट्रिय निकुञ्ज भित्रको घनाजंगल भित्र हिँड्न पाइने भएकाले यो सबैको रोजाइ पदर्छ । यसैबीच, हिजोआज यही निकुञ्ज भित्र अर्को एउटा आकर्षण थपिएको छ, त्यो हो शिवपुरी धाप बाँध (धाप ड्याम) अर्थात् मानव निर्मित विशाल ताल ।

यो ताल अहिले मुख्यगरी सामाजिक संजाल टिकटकमा भाइरल भएको छ । टिकटकमा देखेकै भरमा ताल घुम्न जानेको संख्या बढ्दो छ । गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी डाँडामा निर्मित धाप ड्याम अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।बर्खाको पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा पानी बगाउने उद्देश्यले बनाइएको यो बाँध झन्डै १ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । बर्खाको ४ महिनाको पानी तालमा जम्मा गरेर हिउँदको ८ महिना वाग्मतीमा छाडिने आयोजनाले जनाएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको लगानी गरी ४५ करोड रुपैयाँ (भ्याटबाहेक)खर्चेर उक्त कृत्रिम ताल बनाइएको हो ।धापको ड्याममा ८ लाख ५० हजार घनमिटरभन्दा धेरै पानी जम्मा गर्न मिल्छ । धामको मुहानस्थलमा नागमती नदी रहेको छ । नागमती वागमतीको सहायक नदी हो । वर्खायाममा तालमा जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेन्ड ४० लिटरका दरले नागमती नदीमा खसालिने छ । विशेष पूजाआजका दिनमा सोभन्दा बढी पानी छाडिने आयोजनाले जनाएको छ । सोही पानी आएर वाग्मतीमा मिसिनेछ ।

कहाँबाट जाने ?

धाप बाँध जानका लागि शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्छ । काठमाडौंको चाबहिल–गोकर्ण–सुन्दरीजल हुँदै धापमा पुग्न सकिन्छ । चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको छ । सुन्दरीजलबाट चिसापानी जाने सडक हुँदै धापमा पुग्न सकिन्छ ।
सुन्दरीजलबाट करिब ३ किलोमिटर माथि पुगेपछि दुईवटा बाटो रहेका छन् । एउटा चिसापानी जाने मुख्य सडक (दायाँतर्फ) २२ किमी रहेको छ भने अर्को सहायक सडक (बायाँतर्फ) मूलखर्क हुँदै (१६ किमी)मा ताल पुगिन्छ ।

मुख्य सडकबाट दुईपांग्रे र चारपांग्रे दुवै सवारीसाधन जान सक्छन् भने मूलखर्कबाट जाँदा दुइपांग्रे सवारीमात्र जान सक्छन् । त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किमी दूरी पार गर्नुपर्छ ।

धाप बाँध निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रतिसवारीसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क तिर्नुपर्छ ।गोकर्णेश्वर नगरपालिका-१ का वडाध्यक्ष द्धारिका श्रेष्ठले यस क्षेत्रको पर्यटकीय विकासका लागि सुविधा सम्पन्न बाटो निर्माण र नेपालीहरुलाई निःशुल्क प्रवेशको व्यवस्थाका गर्न पालिकाले पहल गरिरहेको बताए ।

‘हामीले सुविधा सम्पन्न बाटो निर्माण गर्न चाहेका छौं, त्यसको लागि पालिकाको कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेर क्याबिनेटमा पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘आन्तरिक पर्यटकहरुको धेरै घुइँचो लागिरहेको छ । त्यसमा पनि शुल्क नलिने हो भने अझै बढ्छन् । स्वदेशी पर्यटकका लागि पैसा नलाग्ने गरी यस क्षेत्रको विकासका लागि हामीले काम गरिरहेका छौं ।’

हालै निर्मित भएको र पर्यटकीय गन्तव्यको रुपमा प्रबद्र्धन समेत नगरिएकाले त्यहाँ खाजा, खानका लागि कुनै पूर्वाधार छैन । त्यसैले बाँध हेर्न जानेहरुले पानी, चाउचाउ, बिस्कुट लगायत ड्राइफूड बोकेर जानु राम्रो हुन्छ ।तालदेखि करिब ४ किलोमिटर माथिको दूरीमा पर्यटकीयस्थल चिसापानी रहेको छ । चिसापानीमा भने खाने, बस्ने लगायत सबै सुविधा छ ।

‘फेवातालको झल्को आयो’

ताल हेर्न जाने अधिकांशले उक्त बाँधले पोखराको फेवातालको झल्को दिएको बताउने गरेका छन् । मानव निर्मित भए पनि ताल निकै ठूलो छ । सफा, कन्चन पानीले त्यहाँ पुग्नेलाई लोभ्याउने गरेको छ ।

सामाजिक सञ्जाल टिकटक, फेसबुक मार्फत चर्चामा आएपछि अहिले उक्त बाँध हेर्न जानेको भीड लाग्न थालेको छ । विशेषगरी शनिबार, बिदाका दिनमा उक्त ताल हेर्न जाने गरेका छन् ।शनिबार भक्तपुरबाट ताल हेर्न पुगेका बालकुमार बस्नेतले उपत्यकामै ठूलो ताल हेर्न पाउँदा आफू मनमोहित र आन्नदित भएको बताए ।

६ जना साथीहरुको समूहसति पुगेका उनले आफूले टिकटकमा देखेर ताल हेर्न आएको बताए । शिवपुरीमा ठूलो ताल बनेको छ भन्दा म हेर्न उत्साहित र आँतुर थिए । त्यसैले बिदाको दिनमा साथीहरुलाई लिएर आएको हुँ । यति ठूलो ताल देखेसी मलाई फेवातालको झल्को मेटियो,’ उनले भने ।धेरैको आकर्षणको केन्द्र बन्न सक्ने उनको भनाइ छ । अहिले मानिस डुंगा चढ्न कि कुलेखानी जानुपर्छ, कि पोखरा । यहीँ ढुंगासमेत संचालन हुने हो भने यो ताल धेरै मान्छेको रोजाइ बन्न सक्छ,’ उनले भने ।

यस्तै, ताल हेर्न काठमाडौंको कोटेश्वरबाट पुगेका राजकुमार सुवेदीले ताल देखेर आफूलाई पोखरा पुगेको अनुभूति भएको बताए ।

 

Advertisement Section
नेप्सेको ओरालो यात्रा जारी, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेको ओरालो यात्रा जारी, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

विदेश जानेको लर्को, एक महिनामै ६२ हजारले लिए श्रम स्वीकृति Read Next

विदेश जानेको लर्को, एक महिनामै ६२ हजारले लिए श्रम स्वीकृति