काठमाडौं । सानिमा माइ हाइड्रोपावरको खुद नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.४२ प्रतिशतले घटेको छ ।
कम्पनीले चालु आवको असोज मसान्तसम्ममा २३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ७ लाख रुपैयाँ कम हो । सानिमाले गत वर्षको पहिलो त्रैमासमा २४ करोड ३१ लाख खुद नाफा कमाएको थियो ।
विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी र संचालन नाफामा गिरावट आएपछि कम्पनीको नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीले बिजुली विक्रीबाट ३२ करोड १७ लाख रुपैयाँमा आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६.४३ प्रतिशत कम हो । गत वर्ष असोजसम्म कम्पनीले विद्युत् विक्रीबाट ३४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीको खुद संचालन आम्दानी पनि ३ करोड घटेर २५ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । हाल ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ संचित छ ।
खुद नाफामा गिरावट आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १.१४ रुपैयाँले घटेर ७.५२ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ छ ।