काठमाडौं । दक्षिण एशियाली मुलुक पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार अस्ट्रेलियाको सिड्नीमा भएको सेमिफाइनल खेलमा पाकिस्तान न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९.१ ओभरमा ३ विकेटको क्षतिमा भेटायो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद ह्यारिसले ३० रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेटको क्ष्तिमा १५२ रन बनाएको थियो । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए ।
टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकोमा चारै पटक पाकिस्तानले जितेको छ ।