आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ ?

काठमाडौं । विद्युत् उत्पादनको क्षेत्रमा पछिल्लो ५ वर्षमा नेपालले फड्को मारेको छ । यस अवधिमा नेपालको विद्युत् उत्पादन क्षमता दोब्बरले बढेर २२०० मेगावाट पुगेको छ ।

नेपालकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहितका निजी क्षेत्रका आयोजना सम्पन्न हुँदा ५ वर्षमा राष्ट्रिय प्रणालीमा १ हजार बढी मेगावाट बिजुली थपिएको हो ।

सरकारले घोषणा तथा प्रतिबद्धता गरे अनुसार विद्युत् उत्पादन गर्न नसकेपनि यस अवधिमा आन्तरिक माग भने आफ्नै आयोजनाहरूबाट धानेको छ । पछिल्लो पाँच वर्षको अवधिमा दर्जनौं आयोजनाहरूले विद्युत् उत्पादनमा योगदान पुर्याइरहेका छन् ।

राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा आगामी १० वर्षमा १५ हजार मेगावाटसम्म बिजुली उत्पादन गर्ने घोषणा गरेका छन् । पछिल्लो ५ वर्षमा जम्मा १ हजार मेगावाट विद्युत् उत्पादन भएकोमा आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन सम्भव होला त ? त्यो भविष्यले नै देखाउने छ ।

माओवादी केन्द्रले मंसिरमा हुने चुनावको लागि घोषणा पत्र सार्वजनिक गदै पाँच वर्षभित्र कुल विद्युत् उत्पादन ८ हजार मेगावाट क्षमता पुर्याउने बताएको छ । त्यस्तै, नेपाली काँग्रेसले ५ वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ भने एमालले  विद्युत् उत्पादन क्षमता ६५०० मेगावाट पुर्याउने घाेषणा गरेकाे छ ।

सरकारले पनि विद्युत् उत्पादनलाई प्राथमिकतामा राखेको छ । सरकारले स्वदेशी लगानीमा १२०० मेगावाट र विदेशी लगानीमा पश्चिम सेती, अरुण तेस्रो लगायत ठूला आयोजना अघि बढाउने घोषणा गरेको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल(इपान)का कोषध्यक्ष आनन्द चौधरी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन असम्भव नभएपनि त्यस काम नहुँदा घोषणामै सीमित हुने गरेको बताउँछन् ।

‘आन्तरिक लगानी मात्र नभएर विदेशी लगानी भित्र्यिो भने पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन असम्भव होइन् । तर, घोषणा गरेर काम नगर्ने प्रवृत्ति छ । त्यसअनुसार नीति र कार्ययोजनाहरू आउँदैनन्,’ उनले भने, ‘पाँच वर्षअघि पनि १५ हजार मेगावाट उत्पादन गर्ने भनियो, अहिलेसम्म पाँच हजार मेगावाट सम्म बनेको छैन ।’

अहिले २ हजार मेगावाट क्षमता बढीका आयोजनाहरूको निर्माण भइरहेको र आगामी आवभित्र पाँचसय मेगावाट बढी विद्युत् उत्पादन थपिने उनले बताए ।

सरकारले चालु वर्षको बजेट मार्फत २ दुई वर्षभित्र सबै नागरिकलाई विद्युत् उपलब्ध गराउने, एक वर्षभित्र ७१५ मेगावाट विद्युत् उत्पादन गर्ने तथा प्रशारण लाइन निर्माण गर्ने घोषणा गरेको छ । आधा दर्जन बढी जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउनेदेखि विद्युत् निर्यात र खपत बढाउने बजेटमा उल्लेख छ ।

वर्षायाममा नदीमा पानीको  प्रवाह बढ्ने भएकाले विद्युत् खेर जाने तथा हिउँदमा भारतबाट महंगो मूल्यमा आयात गर्नुपर्ने समस्या हालसम्म छ । सरकारले विद्युत् निर्यातका लागि भारत तथा बंगलादेशसँग सम्झौता गरे पनि बाँकी प्रक्रिया भने अघिबढ्न सकेको छैन् ।प्रशारण लाइनको अभाव तथा भारतले खरिद नगर्दा वर्षातको समयमा विद्युत् खेर जाने गरेको छ ।

८ हजार मेगावाटका आयोजना निर्माणको चरणमा

विद्युत् विकास विभागका अनुसार १३ हजार १८६ मेगावाट विद्युत् उत्पादन क्षमता भएका १४७ आयोजनाहरू सर्वेक्षणको चरणमा रहेका छन् ।

८ हजार ३४० मेगावाट विद्युत् उत्पादन क्षमता भएका २२४ आयोजनाको निर्माण भइरहेको छ । यसैगरी, १ हजार मेगावाट विद्युत् उत्पादन क्षमताका १७ आयोजनाको सर्वेक्षण अनुमति मागेका छन् ।

विभागका अनुसार ६ हजार ७७ मेगावाट विद्युत् उत्पादन क्षमता भएका ८५ आयोजनाले निर्माण कार्य अघि बढाउने अनुमति मागेका छन् ।

उत्पादन दोब्बरले बढ्यो, मागमा छैन उत्साह 

ऊर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयका अनुसार गत आर्थिक वर्षसम्म ९४ प्रतिशत जनसंख्याको पहुँचमा बिजुली  पुगेको छ । आव २०७४/७५ सम्म ६९.९ प्रतिशतको पहुँचमा विद्युत् पुगेको थियो ।

२०७४/७५ मा नेपालको विद्युत् उत्पादन क्षमता १०४४ मेगावाट रहेकोमा पछिल्लो ५ वर्षमा २ हजार २०५ मेगावाट भन्दा बढी पुगेको छ । सरकारको तथ्यांक अनुसार यस अवधिमा विद्युत् उत्पादन क्षमता दोब्बर बढीले वृद्धि भएको छ ।

२०७४ सम्म १८३४ गिगाावाट घण्टा बराबरको विद्युत् आयात गरेर माग आपूर्ति गरिन्थ्यो भने हाल विद्युत् प्राधिकरणले ४०० मेगावाट बढीको विद्युत् निर्यात गरिरहेको छ ।

उत्पादन वृद्धिको तुलनामा माग भने बढ्न सकेको छैन । पाँच वर्षअघि १५०० मेगावाट विद्युत्को माग रहेकोमा यसअवधिमा करिब ५ सय मेगावाटले बढेर २ हजारको हाराहारीमा पुगेको छ ।

ठूलो मात्रामा विद्युत् खपत गर्ने उद्योगहरूको संख्या बढ्न सकेको छैन भने पेट्रोलियम पदार्थ माथिको परनिर्भरता हटाउन सकिएको छैन । जसको कारण उत्पादन अनुसार माग बढेको देखिँदैन् ।

पछिल्लो समय सरकारले विद्युत् खपत बढाउन सहुलियत तथा निःशुल्क इन्डक्सन चुल्हो वितरण गर्ने घोषणा गरेको छ भने विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

धानको समर्थन मूल्य बढ्यो, प्रतिक्वीन्टल कति ? Read Next

धानको समर्थन मूल्य बढ्यो, प्रतिक्वीन्टल कति ?