काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले फेरि सेयर बेचेका छन् ।
हालै ४४ अर्ब डलरमा सामाजिक संजाल ट्वीटर किनेका मस्कले आफ्नो स्वामित्वमा रहेको टेस्लाको १ करोड ९५ लाख कित्ता सेयर बेचेका हुन् ।
उनले उक्त सेयर ३ अर्ब ९५ करोड डलरमा बेचेको जनाइएको छ । चालु वर्षमै मस्कले टेस्लाको सेयर बेचेको यो तेस्रो पटक हो ।
यसअघि गत अप्रिलमा उनले टेस्लाको ८ अर्ब ५० करोड डलर र अगस्टमा ७ अर्ब डलर बराबरको सेयर बेचेका थिए ।३ पटकमा गरी मस्कले साढे १९ अर्ब डलरको टेस्लाको सेयर बेचेका हुन् ।
१ खर्ब अमेरिकी डलर मूल्याङ्कन भएको टेस्ला संसारकै सबैभन्दा समृद्ध कार कम्पनी हो।
मस्कले सामाजिक संजाल ट्वीटर किनेपछि खर्च घटाउन भन्दै कर्मचारी कटौती गरेका छन् । साथै, उनले भेरिफाइड अकाउन्ट (ब्लु टिकमार्क)बाट मासिक ८ डलर लिने घोषणा समेत गरेका छन् । एजेन्सी