काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरू मध्येमा करिब एक तिहाई मात्र मार्जिन कारोबार (सेयर धितोमा ऋण)का लागि योग्य रहेका छन् । नेप्सेले सोमबार सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा ८७ कम्पनीको नाम सार्वजनिक गरेको हो ।
हाल नेप्सेमा करिब २५० कम्पनीहरू सूचीकृत छन् । नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा १७ वटा मात्र वाणिज्य बैंक रहेका छन् । त्यस्तै, ८ विकास बैंक, ५ फाइनान्स कम्पनी, २८ लघुवित्त कम्पनी, १३ हाइड्रोपावर, एक होटल लगायत रहेका छन् ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तीमा १० हजार सेयरधनी भएको, खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनु पर्दछ ।
यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको सेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन कारोबार गरिरहेका छन् । साथै, पछिल्लो समय केही ब्रोकर कम्पनीहरूले समेत कार्जिन लेन्डिङ सेवा सुरु गरेका छन् ।