काठमाडौं । वाणिज्य बैंकहरुमा एक सातामै साढे २१ अर्ब निक्षेप थपिएको छ । कात्तिकको सुरुका दुई सातामा २३ अर्बले घटेको निक्षेप तेस्रो साता साढे २१ अर्बले बढेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक तेस्रो साता (११ देखि १८ गतेसम्म) वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ।
कात्तिक ११ गतेसम्म ४५ खर्ब २४ अर्ब रहेको बैंकहरुको निक्षेप १८ गते आइपुग्दा ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि ३ अर्बले थपिएको छ।
निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने झन् घट्दो क्रममा रहेको छ । कात्तिक तेस्रो साता साढे २१ अर्ब निक्षेप थपिँदा वाणिज्य बैंकहरको कर्जा भने १ अर्ब रुपैयाँले घटेको तथ्यांकले देखाएको छ ।
गत कात्तिक ११ गतेसम्म कुल ४२ खर्ब २५ अर्ब २४ करोड कुल कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले एक सातामा १ अर्ब २५ करोड रुपैयाँ घटाएर १८ गतेसम्म ४२ खर्ब २४ अर्ब १६ करोड रुपैयाँमा सीमित गरेका छन् ।
निक्षेप संकलनमा सुधार आएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । समीक्षा अवधिमा बैंकहरुको औषत सीडी रेसियो ८७.२१ प्रतिशतमा झरेको छ । । अघिल्लो साता उक्त रेसियो ८७.५८ प्रतिशत थियो ।