मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्को ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।

 

प्रशोधन केन्द्रको क्षमता ८ करोड ५० लाख लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

 

उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ ।

 

निर्माणाधीन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महीना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै आयोजनामा यसअघि काम गरेको कम्पनी (सिएमसी)ले छाडेर गएका कतिपय निर्माणका काम थप दिइएकाले तीन महीना अवधि थपिएको छ ।

 

“अबको दुई/तीन महीनामा सबै काम सकिन्छ”, पन्तले भने । आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणमा ठेक्कामार्फत काम अघि बढाएको छ । सुरुङ निर्माण र हेडवर्क निर्माणका लागि सरकारले केही समय अघि मात्रै ठेक्का सम्झौता गरेको थियो । रासस

बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी Read Previous

बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी

नेपाली क्रिकेट टिमको कप्तानबाट  राजीनामा दिने पारसको घोषणा Read Next

नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिने पारसको घोषणा