काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा साहसिक पर्यटक आकर्षण गर्न विभिन्न प्रकारका टुरिजम प्रडक्ट संचालनमा आउन थालेका छन् । प्याराग्लाडिङ, स्काइ साइक्लिङ, जीपलाइन, बन्जीजम्प लगायत प्रडक्टहरू पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।
यसैक्रममा, पछिल्लो समय साहसिक पर्यटनको प्रडक्टमा थपिएको छ स्काइ वाक (हिँड्न मिल्ने सिसाको पुल) टावर । देशका मुख्य पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी सिसाको पुल तथा स्काइ टावर निर्माण गर्न थालिएको छ भने कतिपय ठाउँमा यस्ता संरचना सञ्चालनमा आइसकेका छन् ।
साहसिक पर्यटक आकर्षणका लागि महत्वपूर्ण मानिने बन्जी जम्प, स्काइ साइक्लिङ, प्याराग्लाइडीङ जस्ता खेलहरू प्रचलनमा रहे पनि नेपालमा सिसाबाट बनेका पर्यटकीय संरचनाहरू भने निर्माण भएको धेरै भएको छैन् ।
गत फागुनमा पहिलोपटक पर्वतको कुश्मामा हार्नेस कम्पनीले कालीगण्डकी नदीको भीरमा निर्माण गरेर सञ्चालनमा ल्याएको छ । स्काइ साइक्लिङ, बन्जीजम्प लगायत साहसिक खेलका संरचनाहरू बनसकेको सो ठाउँमा थप पर्यटकीय हब बनाउन सिसाको पुल निर्माण गरिएको कम्पनीको भनाइ छ ।
३५ फिट लामो र ११ फिट चौडाइ रहेको यस पुलबाट एकैपटक एकसय जनाले स्काइ ब्रिजको आनन्द लिनसक्ने छन् ।
यस्तै, गत शुक्रबार इलामको सूर्योेदय नगरपालिका कन्याममा स्काइ वाक टावर संचालनमा ल्याइएको छ । डेढ वर्षअघि निर्माण सुरू गरिएको यो टावर उद्घाटनसँगै पर्यटकका लागि खुला गरिएको छ ।
वन्डर्स नेपाल कम्पनीले चार करोड रुपैयाँको लागतमा टावरको निर्माण गरेको हो । उक्त स्काइ टावरको संरचना तीन तहको बनाइएको छ भने दुई तह चढेर माथि पुगेपछि सिसाबाट पूर्वी नेपालको दृश्य हेर्न सकिन्छ ।
कम्पनीका साइट म्यानेजर अर्जुन चौधरीले उक्त टावरबाट पूर्वका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढी तथा सूर्योदय र सूर्यास्तका दृश्य देख्न सकिने बताए ।
एक पटक २२ जनासम्म चढ्नसक्ने क्षमता भएको यस टावरले पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुर्याउने कम्पनीको विश्वास छ । उनका अनुसार टावरसँगै स्काइ रेस्टुरेन्ट र स्वीङ पनि सञ्चालनमा ल्याइने छ । स्काइ वाकको शुल्क ५०० रूपैयाँको रहेको छ फोटो तथा भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।
यस्तै, काठमाडौंको कमलादीमा स्काइ टावर निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । २ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको सो टावरको माथिल्लो भागमा सिसाको काम भइरहेको छ ।
टावरको टपमा स्काइवाक, तल्लो भागमा १० वटा कोठा, मिटिङ हलसमेत हुने कम्पनीको भनाइ छ । मनोरञ्जनका लागि नाइट क्लबदेखि पार्किङ, हेल्थ क्लब, स्वमिङ पुल समेत सञ्चालन गरिन गरी सो टावर निर्माण गरिएको छ ।
१३.२ रोपनी जग्गामा निर्माण गरिएको टावरको उचाइ करिब ७८ मिटर रहेको छ । कम्पनीका अनुसार टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्न सकिनेछ ।
पर्यटकीय गतिविधि बढाउन तथा व्यवसायिक सफलताका लागि नयाँ प्रविधिको विकास भइरहेको छ । सोही अनुसारको टेक्नोलोजी अपनाएर देशका विभिन्न ठाउँहरूमा आकर्षक र नयाँ संरचना निर्माणको क्रम बढ्दै गएको छ ।