काठमाडौं । चुनावी माहोलसँगै सेयर बजार पनि तातेको छ । लामो समय घट्दो क्रममा रहेको सेयर बजार पछिल्लो दुई साता यता उकालो लागिरहेको छ ।
दुई साताको अवधिमै नेप्से परिसूचक डेढ सय अंकले बढेको छ । देशभर चुनावी प्रचारप्रसार बढिरहँदा नेप्सेले पनि लय समात्ने संकेत देखाएको हो ।
चुनावमा सरकारी साथै उमेदवारहरुले गर्ने खर्च बढ्ने र त्यो पैसा बैंकिङ प्रणालीमा आउने लगानीकर्ताको अपेक्षा छ । बैंकिङ प्रणालीमा पैसा आएपछि त्यसले तरलता सहज हुने विश्वास छ ।
कात्तिक लागे यता बैंकहरुको निक्षेपमा पनि क्रमशः सुधार आइरहेको छ । तरलता सहज हुँदै गए मंसिरमा पनि बैंकको ब्याजदर नबढ्ने आकलन छ । जसले लगानीकर्ताको मनोबल बढाउँदा बजारले लय समातेको हो ।
लाभांशको सिजन सुरु भएकाले पनि लगानीकर्ता सेयर बजारप्रति आकर्षित हुन् थालेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । जसले कारोबार संख्या र रकम दुवै बढाएको छ ।
साथै, बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले पनि लगानीकर्ताको ध्यान तानेको देखिन्छ । फाइनान्स र विकास बैंक बाहेह अन्य क्षेत्रका कम्पनीहरुले आकर्षक नाफा कमाएको विवरण सार्वजनिक गरिरहेका छन् ।
लामो समय घटेर न्यूनतम विन्दुमा आएकाले नेप्से पुनः लय समात्न थालेको छ । जसले बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुन थालेको र कारोबारसँगै सूचक पनि बढ्न थालेको लगानीकर्ताको आकलन छ ।
नेप्सेमा उछाल
आइतबार सेयर बजारमा उछाल आएको छ । माइक्रोफाइनान्स र फाइनान्स समूहका कम्पनीको चम्किँदा नेप्सेमा उच्च अंकको बढोत्तरी आएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । कारोबार रकम डेढ अर्ब नाघेको छ । आइतबार नेप्से ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब ५४ करोड रुपैयाँ बढीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.५८ प्रतिशतले बढेको छ ।
आज नेष्डो समृद्धि लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक ७ करोड र हिमाल दोलखा हाइड्रोपावर साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डो र उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, उन्नति सहकार्य लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।