फास्ट ट्रयाकमा सुरुङ निर्माणले गति लिँदै, कति खनियो ?

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)मा सुरुङ निर्माणाले गति लिएको छ । आयोजना अन्तर्गत तीन वटा सुरुङको डिजाइन सम्पन्न भई हाल धमाधम खन्ने काम भइरहेको हो ।

दुई वटा सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र एउटा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन गरिरहेका छन् । पहिलो प्याकेज अन्तर्गत महादेवडाँडा तर्फ दाँया इनलेट (प्रवेश)मा ७० मिटर सुरुङ खन्ने काम पूरा भएको छ । बाँयाँ तर्फबाट १२६ मिटर सुरुङ खन्ने काम पूरा भएको नेपाल सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

उनका अनुसार महादेवको आउटलेट (बाहिर निस्कने दाँया तर्फ) १२७ मिटर सुरुङ खन्ने काम भएको छ । सोही सुरुङको बाँया तर्फ १६८ मिटर सुरुङ खन्ने काम पूरा भएको उनले बताए ।

यस्तै, धेद्रे टनेलको दाँयातर्फ २१२ मिटरसम्म सुरुङ निर्माण भएको छ भने बाँयातर्फ ५४ मिटर सुरुङ निर्माण भएको नेपाल सेनाले जानकारी दिएको छ । यस सुरुङ मार्गको आउटलेट तर्फ सुरुङ खन्ने काम सुरू भइसकेको छैन ।

लेनडाँडा सुरुङ मार्गमा प्रवेश तर्फ स्लोप बनाएर क्राउन हाल्ने काम भइरहेको सिलवालले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा सुरुङ खन्ने काम केही दिनमै सुरू गरिने छ ।

आउट लेटतर्फको दाँयामा ६१ मिटर सुरुङ खनेको छ भने बाँया तर्फ ३५ मिटर सुरुङ खन्ने काम भएको छ । ‘सुरुङ खन्ने काम धमाधम भइरहेको छ, धेद्रेतर्फ आउटलेटमा सुरू भएको छैन त्यसमा पनि घिटै सुरूहुन्छ,’ प्रवक्ता सिलवालले चाणक्य पोष्टसँग भने ।

पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ मार्ग निर्माणको ठेक्का लिएको छ । ३.३५५ किलोमिटर उक्त सुरुङ निर्माणको काम २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा हुन लागेको हो  ।

दोस्रो प्याकेजमा धेद्रेदेखि लेनडाँडासम्मको सुरुङमार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले गरिरहेको छ । ३.०३ किलोमिटर उक्त सुरुङ मार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको थियो ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख ३१ मा दुवै कम्पनीलाई ठेक्का दिइएको थियो । २०८०÷८१ सम्म निर्माण म्याद रहेको फास्ट ट्रयाकको निर्माण अवधि थप ३ वर्ष थपिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा फास्ट ट्रयाकको निर्माण अवधि थप ३ वर्ष थपिने बताएका हुन् ।

फास्ट ट्रयाक अन्तर्गत हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यसको भौतिक प्रगति १९.८३ प्रतिशत मात्र रहेको छ । २०७१ साल वैशाख १ गते नेपाल सेनाले फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको थियो । डीपीआर अनुसार फास्ट ट्रयाक निर्माणको अनुामनित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा फास्ट ट्रयाक निर्माणका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधरणसभा, बुकक्लोज कहिले ? Read Previous

लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधरणसभा, बुकक्लोज कहिले ?

एभरेष्ट बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो Read Next

एभरेष्ट बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो