थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि नेपालले पायो अनुमति

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुलीका लागि अनुमति दिएको हो ।

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए ।

यसअघि प्राधिकरणले दैनिक ३६४ मेगावाट बिजुली निर्यात गर्दै आएको छ । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो । त्यसपछिको विवरण पनि आउने क्रममा छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्रीका प्रस्ताव यसअघि नै गरेको थियो ।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री सुरु गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।

बाराही हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Previous

बाराही हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने Read Next

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने