काठमाडौं । ७२ सिट क्षमताको बुद्ध एयरको जहाजले एक जना मात्र यात्रु बोकेर विराटनगर पुगेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाज एकजना मात्र यात्रु बोकेर काठमाडौंबाट विराटनगर पुगेको हो ।
काठमाडौंबाट जहाजमा एक्लो यात्री बनेर विराटनगर पुग्ने व्यक्ति हुन् व्यवसायी उद्धव पौडेल । उनले बुद्धको जहाजमा आफू मात्र यात्रु रहेको बताएका छन् ।
उनले फेसबुकमा आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । ‘काठमाडौंबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव,’ उनले लेखेका छन् ।
सामान्य अवस्थामा एक जना यात्रु बोकेर जहाज उड्ने गर्दैनन् । एकदुई जना यात्रु भए अन्य कम्पनीको जहाजमा पठाउने गरेको पाइन्छ ।
एकजना मात्र यात्रु बोकेर उड्नु नौलो नभएको बुद्ध एयरले जनाएको छ । कहिलेकाहीँ रित्तै जहाज समेत उडाउनु पर्ने अवस्था आउने गरेको उसको भनाइ छ ।
काठमाडौंबाट जाने यात्रु नभए पनि फर्कने यात्रुको चाप रहेको बुद्ध एयरले जनाएको छ ।