काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६९.४६ प्रतिशतले घटेको छ ।
लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८७ लाख कमी हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा १ करोड २५ लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेर ४ करोड ७३ लाखमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ६७.२५ प्रतिशतले घटेर ५० लाखमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ३५ करोड सापटी लिई ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ५९ लाख रुपैयाँ संचित छ ।
खुद नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २२.७३ रुपैयाँ घटेर ५.८८ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६१.९ गुणा, खराब कर्जा १.४३ प्रतिशत रहेको छ ।