काठमाडौं । इँटा उद्योगहरूले जेठसम्म इँटा बनाउँछन् र गोदाममा थन्क्याउँछन् । बर्खायाममा उद्योग बन्द रहन्छ । सामान्यतया असोज लागेपछि निर्माणका कामहरू सुरू भएकाले इँटा व्यवसायीको सिजन सुरू हुनेगर्थ्यो ।
तर, यस वर्ष भने भने हिउँद लागेको झन्डै डेढ महिना बिते पनि इँटाको विक्री ठप्पप्रायः रहेको व्यवसायीहरू बताउँछन् । निर्माण कार्य ठप्पप्रायः हुँदा इँटाको व्यापार न्यून रहेको छ ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्द उत्पादन भएको ७० प्रतिशत इँटा विक्रीका लागि ग्राहक कुरिरहेको बताउँछन् । उनले बर्खा सुरू हुनु अघिसम्म ५ महिना इँटा उत्पादन हुने बताए । वर्खामा इँटाको उत्पादन बन्द हुन्छ । भदौ/असोजबाट इँटाको विक्री सुरू हुने गरेको भए पनि यस वर्ष इँटाको माग नै नरहेको उनले बताए ।
‘हरेक वर्ष बर्खा अघि इँटा बनाइन्छ, बर्खापछि विक्री गरिन्छ, गत वर्ष उत्पादन गरेर राखेको ७० प्रतिशत इट्टा बाँकी छ,’ चन्दले चाणक्य पोष्टसँग भने ।
कोभिड अघिसम्म देशभर ११/१२ सय हाराहारीमा इट्टा उद्योग थिए । कोभिडको बीचमा २०० देखि ३०० हाराहारीमा उद्योग बन्द भएको उनले बताए । सो पश्चात बाँकी रहेका ७/८ सय हाराहारी उद्योग मध्ये २००/३०० हाराहारी उद्योग गत वर्ष भएको डिजेलको मूल्य वृद्धिका कारण बन्द हुन पुगेको उनले जानकारी दिए । इन्धनको मूल्य वृद्धिका कारणले गत वर्ष उत्पादन धेरै गर्न नसकेको उनले बताए ।
हाल ६०० हाराहारीमा उद्योग सञ्चालनमा छन् । एउटा उद्योगले ३० लाख देखि ३५ लाख इँटा उत्पादन गर्छन् । यसरी सबै उद्योगले गर्दा करिब पाउने २ अर्ब इँटा उत्पादन हुने गरेको उनले बताए । सो मध्ये ७० प्रतिशत हाराहारीमा इँटा बाँकी छ ।
‘यो सेल्सको लागि पिक आवर हो । तर, सरकारी आयोजना र व्यक्तिगत घर निर्माण अति न्यून छ । जसले गर्दा इँटाको माग नै छैन । कुनै पनि उद्योगले यस वर्ष इँटा बेच्न सकेका छैनन्,’ चन्दले भने ।
यस वर्ष किन बिकेन इँटा ?
उनले गत वर्षदेखि सरकारले विकास निर्माणको पैसा भुक्तानी गर्न नसक्नु मुख्य कारण रहेको बताए । ‘सरकारको पैसा बजारमा नआएसम्म आर्थिक चहल पहल सुचारु हुँदैन,’ चन्दले भने । सो कारणले निर्माण व्यसायीले कन्स्ट्रक्सन होलिडे मानेर बसेका थिए । सो कारण समेत इँटा किन्ने मान्छे नभएको उनले बताए ।
अर्कोतर्फ सरकारले कित्ताकाट रोकेको कारण जग्गा विक्री नभएका कारण घर नबन्दा इँटाको विक्री हुन नसकेको उनले बताए । यस्तै, बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावका कारण घर कर्जा नपाउँदा, देशमा भित्रिने रेमिटेन्स समेत घट्नुले पनि इँटा व्यवसायको तगारो बन्न पुगेको बताए ।
यो वर्ष बर्खा लम्बिएका कारण किसानहरूले समेत घाटा बेहोर्नु परेको छ । जस कारण समेत साना निर्माणहरूमा विक्री हुने इँटा थन्केर बसेको छ । इँटा उत्पादनमा एक उद्योगले ३ देखि ५ करोड रुपैयाँ लगानी गरेका छन् । यसरी हेर्दा झण्डै ३० अर्ब रुपैयाँ लगानी इँटा उद्योगमा रहेको छ ।
सरकारले विकास निर्माणको कामलाई तदारुपत्ताका साथ अगाडि बढाए मात्र इँटा व्यवसाय फस्टाउन सक्ने उनले बताए । ‘जबसम्म सरकारको लगानी आउन सक्दैन कुनै चहलपहल हुन सक्दैन,’ चन्दले भने ।
कोइला महंगिँदा व्यवसायी चर्को मारमा
हाल व्यवसायीहरू इन्धन कहाँबाट कसरी पाउने अन्योलमा रहेका छन् । कोरोनापछि कोइलाको मूल्य २०० प्रतिशतले बढेको छ । हाल कोइलाका लागि भारतमा मात्र निर्भर हुनु परेको उनले बताए । विगतमा इन्डोनेसिया, अमेरिकाबाट कोइला आउँथ्यो, अहिले भारतको मात्र भर पर्नु परेको उनले बताए ।
यूक्रेन र रसियाको युद्धका कारण समेत तेस्रो मुलुकबाट आउने कोइला आयात हुन नसकेको र थप महंगो परेको उनले सुनाए ।हाल कोइलाको मूल्य प्रतिटन ४५ हजार देखि ५० हजार रुपैयाँ हाराहारीमा नेपालमा आउने गरेको छ । त्यस अनुसार ४५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँ केजी हाराहारी पर्न जाने उनले बताए ।