सरकारको प्रोत्साहनले बढेन निर्यात, ३६ प्रतिशतले घट्यो

काठमाडौं । व्यापार घाटाको हिस्सा मुलुकको वार्षिक आयव्यको आकारभन्दा ठूलो भइरहेको अवस्थामा निर्यात भने खस्किएको छ । सरकारले निर्यातलाई उच्च प्राथमिकता दिने बताए पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामै निर्यात ३६ प्रतिशतले घटेको हो ।

सरकारले चालु आर्थिक वर्षदेखि सिमेन्ट, डण्डी, क्लिङ्कर, फुटवेयर, प्रशोधित लगायत वस्तुको निर्यातलाई प्रोत्साहन गर्न गर्दा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरे पनि निर्यात बढ्नुको सट्टा झन् घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा निर्यात ३५.७१ प्रतिशतले घटेर ४१ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो पहिलो त्रैमासको तुलनामा २५ अर्बभन्दा बढीले कमी हो ।

गत वर्षको सोही अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अधिकारीहरू पाम तेलको निकासीमा आएको कमीले निर्यातमा असर पुर्याएको बताउँछन् ।

‘नेपालबाट पाम र सोयाबिन तेलको निर्यात राम्रो हुने गर्थ्यो । यस पटक त्यो बढेन् त्यसकारण निर्यातमा घटेको हो,’ केन्द्रका एक अधिकारीले भने ।

नेपालले तेस्रो मुलुकबाट आयात गरेर सोयाबिन र पाम तेललाई प्रशोधन सहित भारत निकासी गर्ने गरेको छ । निर्यातमा जसको एकतिहाइ बढी हिस्सा रहेको केन्द्रको तथ्यांक छ । चालु वर्षमा सबैभन्दा धेरै ८ अर्ब ५ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब बढी रुपैयाँ बराबरको पाम तेल निर्यात गरिएको विभागको तथ्यांकले देखाउँछ ।

व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको अवस्थामा निर्यातको हिस्सा झन घट्नुले एकतिर स्वदेशी रुपैयाँ बाहिरिएको छ भने अर्कोतर्फ परनिर्भरता दिनानुदिन बढ्दै गइरहेको छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको छ भने आयात अनुपात बढ्दै गएको छ । गत वर्षको असोज मसान्तसम्म कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.९७ प्रतिशत रहेकोमा २१.०९ प्रतिशतले घटेर ९.४४ प्रतिशतमा सीमित भएको छ । जबकि आयातको हिस्सा ९०.५६ प्रतिशत रहेको छ । अर्थात, नेपालले कुल १०० रुपैयाँको कारोबार गर्दा ९१ रुपैयाँ बराबरको सामान आयात गर्छ भने ९ रुपैयाँ बराबरको वस्तु निर्यात गर्छ ।

यसअवधिमा कुल ४ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको नेपालले वैदेशिक व्यापार गरेको विभागले जनाएको छ । उद्योगीहरू भने आन्तरिक उत्पादनमा आएको गिरावटको असर व्यापामा देखिएको बताउँछन् । बैंकिङ क्षेत्रबाट सहजरूपमा लगानीका लागि ऋण नपाउनु तथा ब्याजदर वृद्धिले उद्यमशिलता निरुत्साहन बनाएको उनीहरूको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पूर्ण क्षमतामा उद्योगधन्दा सञ्चालन हुन नसक्दा उत्पादन घटेको बताउँछन् । ‘आन्तरिक उत्पादन घटेको छ भने उद्योहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्,’ उनले भने, ‘बैंकबाट सहज तरिकाले ऋण पाइने अवस्था छैन, त्यसमाथि ब्याजदरको वृद्धिले उत्पादन निरुत्साहन बनाएको छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले गत वर्षदेखि लगानीयोग्य रकम अभावले कर्जा लगानी गर्न सकेका छैनन् । जसको प्रत्यक्ष असर साना तथा मझौला उद्यम व्यवसायमा देखिएको उद्योगीहरूले बताइरहेका छन् ।

एकतिर बैंकबाट कर्जा नपाउने स्थिति र अर्कोतिर महंगो ब्याज तिर्नुपर्ने भएकाले लागत वृद्धिले व्यवसाय संकटमा परेको उनीहरूको भनाइ छ । कोभिडले प्रभावित बनाएका यस प्रकारका उद्योग व्यवसायमा वित्तीय संकटले चुनौती थपेको छ ।

लागत वृद्धिले हाल उद्योगहरू ६० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको नेपाल उद्योग वाणिज्य महासंघको दाबी छ । व्यवसायीहरूले उद्यम क्षेत्रमा जाने कर्जाको ब्याजदर घटाउनुपर्ने माग राख्दै आएका छन् ।

तरलता संकटले बैंकहरूको ब्याजदर पनि बढ्दो छ । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आधारदर नै ११ प्रतिशत माथि छ भने कर्जाको ब्याजदर १८ प्रतिशत पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको इन्धनको मूल्यवृद्धि तथा आन्तरिक रूपमा ब्याजदर वृद्धिले उद्योगको उत्पादन क्षमतामा संकट ल्याएको उद्योगीहरूको दाबी छ ।

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै, निगमले माग्यो माफी Read Previous

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै, निगमले माग्यो माफी

यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण Read Next

यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण