३ महिनामा व्यापार घाटा साढे तीन खर्ब, आयात–निर्यात दुवै घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास(साउन–असोज) मसान्त सम्ममा नेपालको व्यापार घाटा साढे तीन खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवमा १३.१३ प्रतिशतले व्यापार घाटा घटेको हो । गत वर्षको असोज मसान्तसम्म ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा चालु वर्ष भने घटेर ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

यस आवमा वैदेशिक व्यापारको हिस्सा पनि घटेको विभागले जनाएको छ । गत वर्षको असोज मसान्तसम्म ५ खर्ब ४३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा यस वर्ष १८.५४ प्रतिशतले घटेर ४ खर्ब ४२ अर्ब रुपैयाँमा सिमित भएको छ ।

चालु वर्ष १६ प्रतिशतले आयात घटेको छ । विभागका अनुसार यस अवधिमा ४ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।

निर्यात पनि ३५.७१ प्रतिशतले घटेर ४१ अर्ब ४२ करोड रुपैयाँमा सिमित भएको छ । सरकारले विदेशी विनिमय संचिति घटेको भन्दै गत वैशाखदेखि कतिपय वस्तुको आयातमा कडाइ गरेको छ ।

हालसम्म गाडी आयात खुलाइएको छैन् । व्यापार घाटामा आयात प्रतिबन्धको सकारात्मक प्रभाव देखिएपनि निर्यात पनि उच्च अंकले घटेको सरकारी तथ्यांकले देखाउँछ । वित्तीय प्रणालीमा तरलता अभावका कारण उद्योग व्यवसायमा नयाँ लगानी थपिएको छैन् भने ब्याजदर तथा मूल्य वृद्धिका कारण लागत बढ्दा सञ्चालनमा रहेका उद्योगहरु पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।

आन्तरिक उत्पादन नबढ्दा निर्यातको हिस्सा घटेको छ भने आयातमा गरिएको कडाइले वस्तुको आयात पनि घटेको देखिन्छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको अनुपात ९०.५६ प्रतिशत रहेको छ भने निर्यात ९.४४ प्रतिशत छ ।

बढ्दो व्यापार घाटाले अर्थतन्त्रमा चुनौती थपेको निष्कर्ष सहित नेपाल राष्ट्र बैंकले नीतिगत कडाइ गदै आएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

भारतसँग मात्र आधाभन्दा बढी व्यापार घाटा

नेपालको व्यापार घाटाको हिस्सा सबैभन्दा धेरै भारतसँग छ । पछिल्लो तीन महिनामा भारतबाट नेपालले २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २९ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस अवधिमा नेपालले भारतसँग मात्र २ खर्ब १५ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

चीनसँग नेपालको व्यापार घाटा ५५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । इन्डोनेसियासँग १३ अर्ब,अर्जेन्टिना १० र युएईसँग ८ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

यी हुन् सबैभन्दा धेरै आयात गरिएका १० वस्तु

असोज मसान्तसम्म ४ खर्ब रुपैयाँ बराबरको वस्तु आयातबाट सरकारले ९६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै २९ अर्ब २ढ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यसवापत सरकारले ९ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा १८ अर्ब २२ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

पेट्रोल आयातबाट सरकारले ९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । खाना पकाउने एलपीजी ग्याँस र स्वाविन तेल १४÷१४ अर्ब रुपैयाँ बढीको आयात भएको छ ।

यसैगरी, पाम तेल र फलामजन्य कच्चा पदार्थ ९÷९ अर्ब रुपैयाँ बढीको आयात भएका छन् । स्मार्ट फोन साढे ८ अर्ब रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडा कटानको प्रक्रिया सुरु, एक महिना भित्र सम्पन्न गरिने Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडा कटानको प्रक्रिया सुरु, एक महिना भित्र सम्पन्न गरिने

निगमको नयाँ दिल्ली उडान कटौती, अब सातामा १० उडान मात्र गर्न पाउने Read Next

निगमको नयाँ दिल्ली उडान कटौती, अब सातामा १० उडान मात्र गर्न पाउने