काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि अवरोध मानिएको रिठ्ठेपानी डाँडा कटानको काम मंसिर भित्र सकिने भएको छ । डाँडा कटानका लागि छनोट भएको निर्माण कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आउँदो १५ गते भित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको हो ।
डाँडा कटानको काम गर्न एम–एस उमा–गल्वा जेभीले ठेक्का पाएको छ । आयोजना प्रमुख विनेश मुननकर्मीले डाँडाको कटानको काम मंसिरभित्र सम्पन्न गरिने बताए ।
‘डाँडा कटानको काम सुरु भएको छैन । कार्तिक अन्तिमसम्ममा सबै प्रकृया पुरा भएर कटान सुरु गर्ने छौं, नोभेम्बर/डिसेम्बर भित्र डाँडा काट्ने काम सक्ने लक्ष्य रहेको छ,’ मुनाकर्मीले भने ।
आउदो मंसिर भित्रै कटान सक्ने गरी निर्माण सुरु गर्न कम्पनीलाई निर्देशन दिइएको उनले बताए । उनका अनुसार पहिलो चरणमा १४ मिटर डाँडा काट्ने योजना छ । प्राधिकरणले विमानस्थलको फ्लाइट क्यालिब्रेसनका लागि डाँडा कटान गर्न लागेको होे ।
डाँडा कटानको लागि प्राधिकरणले भदौ १६ गते ठेक्का आवहान गरेकोमा १० कम्पनीले आवेदन दिएका थिए । उक्त ठेकेदार कम्पनीले विमानस्थलको पूर्वतर्फ रहेको रिट्ठेपानी डाँडाको ४० मिटर कटान गर्ने आयोजनाले जनाएको छ । त्यससँगै रहेको अर्को डाँडाको साढे १२ मिटर कटान गर्ने आयोजना प्रमुख मुनाकर्मीले बताए ।
‘छिटै सुरु भयो भने कटानको काम छिटै सकिने सम्भावना छ,’ उनले भने । उनका अनुसार डाँडा कटानबाट निक्लिने माटो–ढुंगा पोखरा महानगरको हालको ल्याण्डफिल साइट पुर्नका लागि प्रयोग गरिनेछ ।
अन्तर्राष्ट्रिय उडानका लागि फ्लाइट क्यालिब्रेसन अनिवार्य छ । त्यसका लागि अहिलेलाई १४ मिटर डाँडा कटान गर्दा पर्याप्त हुने प्राधिकरणको ठहर छ । सुरु गरेको एक महिनाभित्रै १४ मिटर कटानको काम सकिने आयोनजनाको अनुमान छ ।
प्राधिकरणका अनुसार डाँडा कटानको काम सकिए लगतै फ्लाइट क्यालिब्रेसनको काम गरिनेछ । २२ अर्ब रुपैयाँ लागत रहेको यस अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान–अवतरण हुने बताइएको छ । क्षेत्रीय स्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा संचालनका लागि जोडिने अनुमान गरिएको छ ।
रिट्ठेपानी डाँडा विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किमि दूरीमा छ । विमान उडान तथा अवतरणमा अवरोध गर्ने भएकाले उक्त डाँडाको २.१७६ हेक्टर वन क्षेत्र १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्ने आयोजनाले जनाएको छ ।
डाँडा कटानका क्रममा ६ सय रूख काट्नु पर्छ । डाँडा कटान नगर्दा विमान अवतरण र उडान असहज र असुरक्षित हुने प्राविधिकहरु बताउँछन् । सोही निष्कर्ष अनुसार डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अघि बढाइएको थियो । ईआईए पास हुनलाई ३ वर्ष लागेको थियो ।
नागरिक उड्डयन प्राधिकरणले वन तथा वातावरण मन्त्रालयमा पेस गरेको विमानस्थलको पूरक ईआईए प्रतिवेदनमा ६ सय (८६ वटा ठूला र ५१४ वटा पोल आकारका) रूख कटान हुने उल्लेख छ ।
प्रतिवेदनमा कटान हुने रूखको सट्टामा १० गुणाका दरले ६ हजार वटा बिरुवा आयोजनाकै लागत खर्चमा डिभिजन वन कार्यालयले तोकेको स्थानमा वृक्षरोपण गरी ५ वर्षसम्म स्याहारसम्भार गर्नुपर्ने प्रस्ताव गरिएको थियो । त्यस्तै वन क्षेत्र प्रयोग गरेबापत त्यसको सट्टाभर्नाका लागि डिभिजन वन कार्यालयसँग समन्वय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ईआईए तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले २०७१ फागुन २६ मा स्वीकृत गरेको थियो । प्राधिकरणले ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना’ लाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाएको थियो ।