काठमाडौं । दशैं पछि कारोबार भएको दोस्रो दिनमा पनि सेयर बजारमा ठूलो गिरावट आएको छ । दशैं अघि हरियाली छाएर बन्द भएको बजार खुले लगत्तै ओरालो लागेको छ । दशैंपछि बजारले गति लिने आशा गरेका लगानीकर्ता गिरावट आउँदा निराशा भएका छन् ।
सेयर बजार मापक सूचक नेप्से १२.०५ अंकले घटेर ११३६.९६ विन्दुमा पुगेको छ । आज १५४ कम्पनीको २१ करोड ८६ लाख ३५ हजार ६९१ रुपैयाँको कारोबार भएको छ । ८ लाख ३३ हजार ७५३ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १५४ कम्पनीमध्ये १११ कम्पनीको सेयर मूल्य घटेको छ । २३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका १२ वटा समूहमध्येमा सामूहिक लगानी कोष समूह बाहेक अरु सबै समूहको सूचक घटेका छन् । आज होटल समूहको सूचक सबैभन्दा धेरै ५३.६६ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १३.४५ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ६५ लाख ७३ हजार १२५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा सिद्धार्थ बैंक र नबिल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । सिद्धाथको २ करोड ६४ लाख र नबिलको १ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज राधी विद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.८४ प्रतिशतले बढेको छ भने सिनर्जी पावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.४९ प्रतिशतले घटेको छ ।