फूलमा आत्मनिर्भर बन्दै: फस्टाउँदै पुष्प व्यावसाय, ४१ जिल्लामा व्यावसायीक खेती

"तिहारमा मालाको मूल्य ७० रूपैयाँसम्म बढी तिर्नुपर्ने"

काठमाडौं । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार पर्व परेकाले आयात गरिने फूलको सङ्ख्यामा कमी आउने भएको हो । गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो ।

 

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै फूल ल्याइने फ्लोरीकल्चर एसोसिएशनले जनाएको छ । गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो ।

 

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एसोसिएशनको अनुमान छ ।

 

व्यावसायिकरूपमा फूल खेती गर्नेको सङ्ख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म बढी तिर्नुपर्ने देखिन्छ ।

 

स्वदेश र विदेशमा गरी वार्षिकरूपमा १ अर्ब ८५ करोड रुपैयाँको फूलको कारोवार हुँदा तिहारमा मात्रै १ करोड रुपैयाँको फूलको कारोवार हुन्छ । तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातीत फूल ल्याउन शुरु गरिन्छ ।

 

६० प्रतिशत माला उपत्यकामा खपत

 

चाडवाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

 

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अस्ट्रेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

 

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन् ।

 

नेपालमा वि.सं. २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।रासस

दशैंपछि पनि सुध्रिएन सेयर बजार, दोहोरो अंकको गिरावट Read Previous

दशैंपछि पनि सुध्रिएन सेयर बजार, दोहोरो अंकको गिरावट

नेपाल र चीनबीच भएको २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर Read Next

नेपाल र चीनबीच भएको २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर