७२ करोड लगानीमा दुई खाने तेल उद्योग खुल्दै

काठमाडौं । पछिल्लो समय नेपालमा खाने तेल उत्पादन तथा प्रशोधन गर्ने उद्योग थपिने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको ३ महिना (साउन–असोज)मा थप दुई खानेतेल उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार ७२ करोड रुपैयाँ लगानीमा दुई नयाँ तेल उद्योग खुल्ने भएका हुन् । ती उद्योग रुपन्देही र पर्सामा खुल्ने भएका हुन् ।

दुवै उद्योगले सोयाबिन, सनफ्लावर, पाम लगायतका तेल उत्पादन गर्ने छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालिको नामको तेल उद्योग खुल्ने भएको छ । २५ करोड रुपैयाँ लगानीमा सञ्चलनमा आउने यस उद्योगले वर्षेनी ३ हजार ३०० किलोलिटर सोयाबिन तेल र २९ हजार किलोलिटर केकमा प्रयोग हुने तेल उत्पादन गर्नेछ ।

यसैगरी, पर्साको लापर्सा गाउँपालिकामा नमस्ते आयल एण्ड रिफाइनरी इण्डष्ट्रिज खुल्ने भएको छ । ४७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यस उद्योगले वर्षेनी ३५ हजार टन पाम आयल, ३५ हजार लिटर सोयाबिन रिफिल्ड तेल र ३५ हजार सनफ्लावरको तेल रिफानिङ गर्नेछ ।

खाने तेलको माग बजारमा बढेसँगै तेल प्रशोधन उद्योगहरु समेत बढ्न थालेका छन् । हाल करिब ३ दर्जन उद्योगले तेल प्रशोधन तथा उत्पादन गर्दै आएका छन् ।

आयात र निर्यात घट्दै

चालु आर्थिक वर्षमा खाने तेलको आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको भदौसम्म १८ अर्ब ५१ करोड रुपैयाँ बराबरको खाने तेल तथा घिउ आयात भएको छ । सो मूल्यमा ९ करोड ४ लाख लिटर खाने तेल तथा घिउ आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा २६ अर्ब १० करोड रुपैयाँको खानेतल तथा घिउ आयात भएको थियो । चालु आवमा ९ अर्ब १२ करोड रुपैयाँ बराबरको सोयाबिन तेल, १ करोड ५८ लाख रुपैयाँ बराबरको ओलिभ आयल, ७ अर्ब ३२ करोड रुपैयाँको पाम आयल, २ अर्ब १ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षको २ महिनामा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको छ । सो मूल्यमा ३ करोड ३० लाख लिटर तेल निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो मूल्य बराबर १२ करोड ११ लाख लिटर खाने तेल निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा कुल ९३ अर्ब ७४ करोड रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो मूल्यमा ४१ करोड ६७ लाख लिटर खाने तेल निर्यात भएको थियो ।

 

घरजग्गा कारोबारको ‘हटस्पट’ बन्दै तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ Read Previous

घरजग्गा कारोबारको ‘हटस्पट’ बन्दै तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ

कच्चा पदार्थको भन्सार वृद्धिले बन्द हुँदै कङ्क्रिट मिक्सर मेसिन उद्योग Read Next

कच्चा पदार्थको भन्सार वृद्धिले बन्द हुँदै कङ्क्रिट मिक्सर मेसिन उद्योग