काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार ओरालो लागेपनि तराईका क्षेत्रहरुमा भने किनबेच बढ्दो छ । जनसंख्या बढेसँगै बढ्दो सहरीकरणका कारण घरजग्गा किनबेचका लागि तराई मानिसको रोजाइमा पर्न थालेको हो ।
नयाँ सहर तथा प्रदेश राजधानीको रुपमा विकास भइरहेका तराईका क्षेत्रहरु मानिसको आकर्षण बढ्दो छ । मोरङ, सुनसरी, झापा, चितवन, दाङ, भैरहवा, बाँके, महोत्तरी, सर्लाही र कैलाली लगायतका जिल्लाहरुमा तिव्र किनबेच भइरहेको सरकारी तथ्यांकले देखाउछ । यी क्षेत्रहरुमा भइरहेको कारोबारले उपत्यकालाई उछिनेको छ ।
उपत्यका क्षेत्रमा बाक्लो आवास, मूल्य उच्च हुनुका साथै खाली जग्गा नपाइने भएपछि मानिसको रोजाइ सहर उन्मुख क्षेत्रहरुमा पर्न थालेको घरजग्गा व्यवसायी बताउँछन् । देश संघीय संरचनामा गएसँगै पहाडबाट तराई तथा दुर्गमबाट सुगमतर्फ सेवासुविधाको खोजिमा बसाँइसराइ गर्ने क्रम बढ्दो छ ।
सरकारले गत जेठ मसान्तमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै घरजग्गा व्यवसायमा उच्च गिरावट आएको छ । तर,पहाडी जिल्लाका कतिपय मालपोत कार्यालयबाट शुन्य कारोबार हुँदा तराईमा भने फस्टाएको छ ।
भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत भदौको तुलनामा असोजमा घरजग्गा किनबेच ८ हजार ९३१ ले घटेको छ । कुल कारोबार अघिल्लो महिनाको तुलनामा ३४ हजार बढीले घटेको छ ।
अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले किनबेच घटेको विभागले जनाएको छ । गत वर्षको असोजमा ६० हजार घरजग्गा किनबेच भएकोमा चालु आवको असोजमा ३३ हजार ४३८ ले घटेर २५ हजार ७८९ मा सिमित भएको छ ।
घरजग्गा कारोबार वापत सरकारले प्राप्त गर्ने राजस्वमा पनि उच्च गिरावट आएको छ । भदौमा घरजग्गा कारोबार मार्फत साढे तीन अर्ब राजस्व संकलन भएकोमा असोजमा १ अर्ब रुपैयाँले घटेर साढे दुई अर्बमा सिमित भएको छ ।
भूमी व्यवस्था मन्त्रालयले जारी गरेको भूउपयोग नियमावली अनुसार जग्गाको कित्ताकाटका लागि वर्गिकरण नगरेसम्म स्थानीय तहकोे सिफारीस आवश्यक पर्ने व्यवस्था छ ।
सरकारले खेतीयोग्य जमीनको खण्डीकरण रोक्न कित्ताकाट गर्नुपूर्व कृषियोग्य वा गैरकृषि क्षेत्र हो भन्ने छुट्याउनुपर्ने प्रावधान राखेको छ । तर, स्थानीय तहहरूले हालसम्म जमिनको वर्गीकरण गर्न सकेका छैनन् । मन्त्रालयले स्थानीय तहलाई गठन गरिएको भूउपयोग परिषद मार्फत २३ मंसिरसम्म जग्गाको वर्गिकरण गरिसक्न भनेको छ ।
व्यवसायीहरुले वित्तीय प्रणालीमा तरलता अभाव कायम हुँदा बैंकबाट सहज ऋण पाइरहेका छैनन् । अर्कोतर्फ निरन्तर ब्याजदर वृद्धिको प्रभाव घरजग्गा व्यवसायमा देखिएको छ । नेपाल राष्ट्र बैंकले गत वर्षदेखि घरकर्जा लगानीमा कडाइ गदै आएको छ । जसको परिणाम घरजग्गा धितोमा राखेर लिइने कर्जा घट्न थालेको छ ।
यी हुन् कारोबार मौलाएका १० जिल्ला
चालु आवको तीन महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच हुनेमा मोरङ पहिलो नम्बरमा छ । यस जिल्लाको रङगेली, विराटनगर र बेलवारी मालपोत कार्यालयबाट ६ हजार १०८ घरजग्गा किनबेच भएको छ ।
दोस्र्रोमा काठमाडौं उपत्यकाको डिल्लीबजार, साँखु, मनमैजु, टोखा, चाबहिल र कलंकी मालापोत कार्यालयबाट असोज मसान्तसम्म ५ हजार ५७६२ घरजग्गा खरिद विक्री भएको विभागले जनाएको छ ।
सुनसरीका धरान र इनरुवा मालपोत कार्यालयबाट ५ हजार २५६ घरजग्गा किनबेच भएका छन् । यसैगरी, झपामा ४ हजार ९१,चितवनका विभिन्न मालपोत कार्यालयबाट २७१५, धनुषा र बाँकेमा ३÷३ हजार भन्दाबढी किनबेच भएको छ ।
विभागका अनुसार बाँके ३५७०,बारा २६६४७ ललितपुर २२७३ र भक्तपुरमा २२४२ घरजग्गा किनबेच भएका छन् । यसैगरी, सिराहा, कपिलवस्तु, महोत्तरी,रुपन्देही लगायतका सहर उन्मूख जिल्लाहरूमा घरजग्गा किनबेच मौलाएको देखिन्छ ।