मदिराको आयातसँगै खपत पनि घट्यो

काठमाडौं । यो पटकको दशैँमा मदिराको व्यापार घटेको व्यवसायीहरुको भनाई रहेको छ । मदिरा व्यवसायी महासंघका अध्यक्ष रवी केसीका अनुसार सामान्य समयमा साढे २ महिनामा बिक्री हुने मदिरा दशैँको १५ दिनमा बिक्री हुने गर्छ । तर, यो पटक विगतका समयमा जस्तो राम्रो व्यापार हुन नसकेको उनले बताए ।

 

‘गएका वर्षहरुमा साढे २ महिनामा विक्री हुने मदिरा दशैँको समयमा एकै पटक बिक्री हुने गर्दथ्यो । यो पटक भने गएका समयका तुलनामा निकै कम व्यापार भएको छ, पहिले जस्तो मदिरा खपत हुन सकेको छैन,’ अध्यक्ष केसीले चाणक्य पोष्टसँग भने ।

 

मदिरा आयातमा १६ प्रतिशतले कमी

 

भन्सार विभागको तथ्यांक हेर्ने हो भने पनि गत वर्षको तुलनामा यो वर्ष मदिरा जन्य वस्तु आयातमा कमी आएको देखिन्छ ।

 

चालू आर्थिक वर्षको यो दुई महिनामा गत वर्षको दुई महिनाको तुलनामा ६ करोड ६६ लाख रुपैयाँ बराबरले मदिरा आयातमा कमी आएको छ । यो गत वर्षको तुलनामा १६ प्रतिशतले कम हो ।

 

चालू आर्थिक वर्षको दुई महिनामा ३५ करोड २९ लाख ४६ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको छ । सो आयात बापत सरकारले २० करोड २ लाख रुपैयाँ रजश्व असुल गरेको छ । गत आर्थिक वर्षको दोस्रो महिनासम्म ४१ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको मदिराजन्य वस्तु आयात भएको थियो ।

 

गत आर्थिक वर्षमा कुल ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको मदिरा जन्य वस्तु आयात भएको थियो । सो वापत सरकारले ४ अर्ब १८ करोड ८८ लाख रुपैयाँ राजश्व असुल गरेको थियो ।

 

आर्थिक वर्ष २०७४/७५ मा कूल ३ अर्ब ३ करोड ३८ लाख रुपैयाँ बराबरको मदिरा आयात भएको थियो । सो आयातका क्रममा ३ अर्ब ९९ करोड ९ लाख रुपैयाँ राजश्व सरकारले असुल गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

नेपालमा खपत हुने मदिरामध्ये ६० प्रतिशत अवैध र ४० प्रतिशत वैध रुपमा मदिराको बिक्री हुने गरेको छ । अहिले देशभर मदिरा बिक्री गर्ने करिब ६३ हजार बिक्रेता रहेका छन् ।

 

विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा मदिरा उपभोग सम्बन्धमा गरेको एक अध्ययनले ९०.९ प्रतिशत मदिरा उपभोग हिसाबमा नआउने गरेको ।

 

नेपालमा बियर उत्पादन

 

नेपालमा १० वटा बियर उत्पादक कम्पनीहरु संचालनमा छन् । गत आर्थिक वर्षमा सबै कम्पनीले मिलाएर एक करोड ४५ लाख १६ हजार अर्थात् १७ करोड ४१ लाख ९२ हजार बोतल बियर उत्पादन गरेका छन् ।

 

नेपालमा बियर उत्पादन सँगसँगै खपत पनि बढिरहेको छ । पछिल्लो तथ्याङ्कका अनुसार नेपालमा सबैभन्दा बढी बजार हिस्सा गोर्खा ब्रुअरीको रहेको छ । आर्थिक वर्ष ०७५/७६ मा ५६ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले ८१ लाख कार्टुन बियर उत्पादन गरेको छ ।

 

नेपालमा वर्षेनी बियरको बजार हिस्सा २० देखि ३० प्रतिशतले बढ्दै गएको छ । सरकारको गतिलो राजश्व आम्दानीको क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्बभन्दा बढी राजस्व असुल गरेको छ

 

नेपाली संस्कार तथा भोजभतेरमा समेत प्रयोग हुने गरेको मदिराजन्य वस्तु चाडपर्वका बेलामा समेत परिवारजनमा रमाइलोका रुपमा पिउने गरिन्छ । मदिराजन्य वस्तुले अन्य समयमाभन्दा पनि चाडपर्वका बेलामा बढी खपत हुने गर्छ । त्यसो भएता पनि यो पटक मदिरा पदार्थ खपतमा कमी आएको व्यवसायीहरु बताउँछन् ।

 

पछिल्लो समयमा मदिरा जनय वस्तु मध्ये बियरमा अल्कोहलको मात्रा कम हुने हुनाले युवावर्गमा पनि बढी रुचाइन थालेको छ । जन्म दिन, भेटघाट, बिहे भोजमा समेत मदिरा जन्य वस्तु राखिने प्रचलन बढेको छ ।

 

अझ नेवारीलगायत अन्य जनजातीहरुको संस्कारमा मदिरा अनीवार्य मानिने प्रचलन रहेको छ । नेवारी संस्कार अनुसार मदिरा भगवानलाई चढाइनुका साथै यसलाई सगुनको रुपमा पिइने समेत गरिन्छ ।

मुस्ताङमा आन्तरिक पर्यटक ह्वात्तै बढे, होटल भरिभराउ Read Previous

मुस्ताङमा आन्तरिक पर्यटक ह्वात्तै बढे, होटल भरिभराउ

नेशनल लाईफको साधरण सभा कार्तिक २४ मा, बुकक्लोज कहिले Read Next

नेशनल लाईफको साधरण सभा कार्तिक २४ मा, बुकक्लोज कहिले