सूर्यविनायक-साँगा सडक विस्तारका लागि ठेक्का आह्वान, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने

सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रिया अन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड विस्तारका लागि ठेक्का आह्वा भएको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले आइतबार सूचना प्रकाशित गर्दै बोलपत्र आह्वान गरेको हो । अर्थ मन्त्रालयले उक्त सडक विस्तारका लागि सुनिश्चत गरेपछि आयोजनाले ठेक्का आह्वान गरेको हो ।

दुई खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सूर्यविनायक–धुलिखेल सडक अन्तर्गत पहिलोखण्ड साँगा– धुलिखेलखण्डको ठेक्का आह्वान भइसकेको छ । स्रोत सुनिश्चितता नहुँदा रोकिएको दोस्रोखण्ड सूर्यविनायक–साँगा सडक विस्तारका लागि मन्त्रालयले बजेट सुनिश्चित गरिदिएसँगै ठेक्का आह्वान भएको हो ।

जापानी सहयोग नियोग जाइकाले हात झिनेपछि नेपाल सरकारले आन्तरिक स्रोतबाटै यस सडक अगाडि बढाउने निर्णय गरेको थियो । सो अनुसार गत भदौमा आयोजनाको डीपीआर तयार सुरु गरिएको थियो ।

प्रारम्भिक डीपीआर अनुसार सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तार गर्न साढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । पछि डीपीआर परिवर्तन हुँदा नयाँ पुलहरु निर्माण गर्नुपर्ने देखिएकले लागत थप १ अर्ब बढेको थियो । यस अनुसार सूर्यविनायक–साँगा सडक विस्तारका लागि साढे ५ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

डीपीआर अनुसार गाडी चल्ने मुख्य चार लेनको सडक बनाइने छ । दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख छ ।

डीपीआर अनुसार साँगामा डेढदेखि दुई किलोमिटर नयाँ सडक निर्माण हुनेछ । धुलिखेलबाट आउने अहिलेकै सडकलाई एकतर्फी बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिने डीपीआरमा उल्लेख छ ।

यस सडक विस्तारको ठेक्का पाउने कम्पनीले ३ वर्षभित्र निर्माण पूरा गर्नुपर्ने छ भने निर्माण सम्पन्न भएको १ वर्षसम्म मर्मतसम्भार गर्नुपर्नेछ ।

साँगा-धुलिखेल सडक विस्तारका लागि ५ कम्पनीको आवेदन

सूर्यविनायक–धुलिखेल सडक विस्तार अन्तर्गत पहिलो खण्ड साँगा धुलिखेल सडक विस्तारका लागि ठेक्का आह्वान भई अहिले आवेदन मूल्यांकनको क्रममा रहेको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले भदौ १५ गते गरेको बोलपत्र आह्वानमा ५ कम्पनीले आवेदन दिएका छन् । ।आयोजनाका अनुसार साँगा–धुलिखेल सडक ६ लेनमा विस्तार गर्न आशिष कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, लामा कन्स्ट्रक्सन, शर्मा एण्ड कम्पनीले आवेदन दिएका हुन् ।

आन्तरिक स्रोतबाटै निर्माण हुने सूर्यविनायक धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्डका लागि ४ अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको थियो ।

अब आवेदन दिएका कम्पनीहरुको प्राविधिक मूल्यांकन गरिने छ । प्राविधिक मूलयांकनबाट पास भएका कम्पनीहरुबाट आर्थिक प्रस्ताव माग गरिने छ । जुन कम्पनीले सबैभन्दा कम रकम कबोल गर्नेछ सोही कम्पनीले उक्त सडक विस्तारको ठेक्का पाउने छ ।

ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतसमेतको जिम्मा लिनुपर्ने छ ।

डीपीआरअनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु ९ अर्ब लागत लाग्ने छ । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो ।

सरकारले आव २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु १ अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो ।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौं आउजाउ गर्दछन् ।

उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।

प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध हट्यो, यस्ताे छ नयाँ मापदण्ड Read Previous

प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध हट्यो, यस्ताे छ नयाँ मापदण्ड

कनेक्ट आइपीएसबाट दैनिक २ लाखसम्म फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने Read Next

कनेक्ट आइपीएसबाट दैनिक २ लाखसम्म फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने