प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध हट्यो, यस्ताे छ नयाँ मापदण्ड

काठमाडौं । देशभर प्याराग्लाइडिङ उडानमा लगाइएको अनिश्चितकालीन प्रतिबन्ध हटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मापदण्डमा कडाइ कडाइ गर्दै प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मापदण्ड पूरा गर्नेलाई उडान अनुमति खुला गरेको बताए । ‘प्राधिकरणले उडानको लागि केही मापदण्ड ताकेको छ ती मापदण्ड पूरा गर्नेले उडान गर्नपाउने गरी खुला गरिएको छ,’ उनले भने ।

प्राधिकरणले नयाँ मापदण्ड तोक्न गठन गरेको समितिले ५ वटा मापदण्ड लागू गर्न सिफारिस गरेको थियो । सोही मापदण्ड लागू गरेर प्याराग्लाइडिङ उडान अनुमतिलाइ निरन्तरता दिएको उनले बताए ।

यस्ता छन् नयाँ मापदण्ड

प्राधिकरणले तोकेको नयाँ मापदण्ड अनुसार अब व्यवसायिक बाहेकका उडान गर्न नपाइने भएको छ । मापदण्ड निर्धारण गर्न गठन गरिएको समितिको सुझावलाई लागू गर्दै क्यानले व्यवसायिक बाहेक एकल उडान गर्न नपाइने व्यवस्था गरेको हो ।

प्राधिकरणका अनुसार नेपाल हवाई खेलकुद संंस्थाबाट लाइसेन्स लिएका पाइलटले मात्र प्याराग्लाडिङ उडान गर्न पाउनेछन् । १५ दिन भित्र पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल २ र साइकोएक्टिभ अवस्थाको परिक्षण र प्याराग्लाडिङमा प्रयोग हुने सबै उपकरणहरु उडान गर्न योग्य रहेको विषय प्रमाणित गर्नुपर्ने छ ।

यसैगरी, पाइलटले हरेक वर्ष उडान सुरक्षा सम्बन्धी सेफ्टी कोर्स लिनुका साथै कम्पनीको नाम खुल्ने ड्रेस कोड अनिवार्य आवश्यक पर्ने मापदण्ड बनाएको छ ।

गत आइतबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा नेपाल आर्मीका खेलाडी निशिम थापामगरको निधन भएपछि क्यानले देशभर उडानमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । साहसिक खेल मानिने प्याराग्लाइडिङ उडानमा अनिश्चितकालीन प्रतिबन्ध लगाएपछि व्यवसायीहरुले असन्तुष्टि जनाएका थिए ।

प्राधिकरणका अनुसार हाल देशभर एक दर्जन जिल्लामा प्याराग्लाइडिङको व्यवसायिक उडान भइरहेको छ  प्याराग्लाइडिङका लागि उपयुक्त तथा पर्यटकको रोजाइमा पर्ने पोखरामा मात्र आधा दर्जन कम्पनीले व्यवसायिक उडान गरिरहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटन आकर्षण गर्ने साहसिक पर्यटन व्यवसाय प्याराग्लाइडिङको उडान बन्द भएपछि पर्यटकीय सिजनमै व्यवसाय खुम्चने अनुमान सहित उडान खुला गरिएको क्यानले जनाएको छ ।

 

निजी क्षेत्रको लगानीमा १७१ मेगावाटको दूधकोशी-६ आयोजना निर्माण हुने, ३१ अर्ब लगानी Read Previous

निजी क्षेत्रको लगानीमा १७१ मेगावाटको दूधकोशी-६ आयोजना निर्माण हुने, ३१ अर्ब लगानी

सूर्यविनायक-साँगा सडक विस्तारका लागि ठेक्का आह्वान, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने Read Next

सूर्यविनायक-साँगा सडक विस्तारका लागि ठेक्का आह्वान, साँगामा २ किमी छुट्टै नयाँ सडक बनाइने