काठमाडौं । ब्याजदर वृद्धिले उत्पदनमूलक क्षेत्रमा हुने लगानी ‘डाइभर्ट’ हुन थालेको छ । जोखिम लिएर उद्योगमा लगानी गर्नुभन्दा बैंकमा निक्षेप राख्दा बढी फाइदा हुने भएपछि उद्योगमा लगानी हुने पैसा डाइभर्ट हुन थालेको हो ।
झन्झट र जोखिम मोलेर उद्योगमा लगानी गर्नुभन्दा बिना जोखिम बैंकमा राखेर १२ देखि १५ प्रतिशत ब्याज खादा फाइदा हुने भएपछि पछिल्लो समय औद्योगिक क्षेत्रमा लगानी घट्दै गएको जानकारहरू बताउँछन् । बैंकको ब्याजदर उच्च हुँदा औद्योगिक क्षेत्रमा लगानी निरुत्साहित हुँदै गएको उनीहरूको भनाइ छ ।
नयाँ उद्योग खोल्न बैंकबाट ऋण पाउने अवस्था छैन । आफ्नै पूँजीमा उद्योग खोल्ने तयारीमा रहेकाहरू पनि उद्योगमा लगानी गर्नभन्दा बैंकमा पैसा राख्दा फाइदा हुने भएपछि लगानी होल्ड गर्न थालेको व्यवसायीहरू नै बताइरहेका छन् ।
सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउन आन्तरिक उत्पादन वृद्धि गर्ने घोषणा गरेको छ । तर, बैंकको ब्याजदर उच्च हुँदा एकतिर कर्जा लिएर व्यवसायमा लगानी गर्न लागत महंगो हुन्छ भने अर्कोतर्फ सजिलै राम्रो प्रतिफल आउने भएपछि मानिसले जोखिम र झन्झट मोल्न चाहदैन् ।
जसको कारण व्यवसायमा लगानी गर्न इच्छा भएकाहरू पनि लागत महंगो पर्ने भएपछि पलायन हुने व्यवसायीहरूको तर्क छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ उत्पादन क्षेत्रमा लगानीको लागि बढी लागत र जोखिम मोल्नु मानिसले सजिलो कमाइ रोज्ने बताउँछन् । ‘ब्याजबाटै राम्रो आम्दानी हुन्छ भने लगानी गरेर जोखिम लिनबाट टाढिनु स्वभाविक नै हो,’ उनले भने, ‘लगानीको जोखिम र लागत बढ्ने भएपछि मानिसको ध्यान त्यहाँबाट निकालेर सुरक्षित ठाउँमा राख्नतिर जान्छ ।’
सरकारको अस्थिर नीति र ब्याजदर वृद्धिले उद्योगको लागत वृद्धि तथा उत्पादन क्षमतामा ह्रास आएको उनको टिप्पणी छ ।
अर्थमन्त्रीदेखि व्यवसायीको एउटै प्रश्न
गत असोज ५ गते गोरखा पुगेर अर्थमन्त्री जनार्दन शर्माले ‘ब्याजको लोभमा बैंकमा पैसा थुपारेर उत्पादनमा लगानी नबढ्ने’ बताए । ‘धेरै ब्याज पाउने लोभमा बैंकमा पैसा थुपारेर उत्पादन बढ्दैन्,’ उनले भने, ‘उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने सरकारको नीति हो । त्यसका लागि लगानी बढाउन बैंकले बढाएको ब्याज घटाउन सरकार लागिरहेको छ ।’
मन्त्री शर्माले त्यसको केही समयपछि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएर ब्याजदरका विषयमा अध्ययन गर्न लगाए । तर, उक्त समितिले सरकारले लिएको आर्थिक वृद्धि र मुद्रास्फीतिको लक्ष्यको सीमा कायम गर्न ब्याजदरमा सरकारले हस्तक्षेप गर्न नहुने सुझाव दियो ।
समितिले बजारलाई नै ब्याजदर खुला छोड्न निष्कर्ष सहितको प्रतिवेदन बुझाएपछि उनी चुपचाप छन् । बैंकले महंगो ब्याज लिँदा उद्योग व्यवसाय नै संकटमा परेको भन्दै व्यवसायीहरू ब्याजदर वृद्धिको विरुद्धमै उत्रिएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर घटाउन माग गदै यसैसाता राष्ट्र बैंक समक्ष सुझाव पेस गरेको थियो ।
यसैगरी, चेम्बर अफ कमर्स, होटल व्यवसायी महासंघ लगायतका संस्थाहरूले ब्याजदर घटाउन माग गरिरहेका छन् भने सुर्खेतमा गत साता उद्योग सञ्चाल नै बन्द गरेर कपिय व्यवसायीहरू त्यसको विरोधमा आए ।
महासंघका अध्यक्ष शेखर गोल्छा बाह्य क्षेत्रको दबाब र तरलता अभाव तथा ब्याजदर वृद्धिले निजी क्षेत्र अहिलेसम्मकै ठूलो समस्याबाट गुज्रिरहेको बताउँछन् ।‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ,’ उनले सोमबार राष्ट्र बैंक समक्ष सुझाव पेस गदै भने,‘ब्याजदर स्थायित्व चालु पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्दछ ।’
महासंघका एक उपाध्यक्ष निर्माण उद्योगमा ठूलो गिरावट आउँदा बैंकको नाफा अस्वभाविक बढेको टिप्पणी गर्छन् । ‘बाह्य दबाबका कारण अर्थतन्त्रले कोभीडभन्दा ठूलो संकट भोगिरहेको छ । अहिले निर्माण उद्योगमा आधाभन्दा बढी गिरावट आएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रले अस्वभाविक नाफा कमाएको छ ।’
बैंकको लगातार ब्याजदर वृद्धिको मार उद्योगले थेग्न नसक्ने बताउँदै व्यवसाय छोडेर बैंकमै पैसा राख्नुपर्ने अवस्था आएको ति व्यवसायी टिप्पणी गर्छन् ।
बजारले नियन्त्रण र सन्तुलन गर्छ
खुला बजार अर्थतन्त्रमा कुनै वस्तुको मूल्य निर्धारण गर्ने स्वतन्त्रता बजारलाई नै दिइएको हुन्छ । जब बजारमा माग बढ्छ त्यसपछि वस्तुको मूल्य बढ्छ भने माग घट्दा मूल्यपनि घट्ने सर्वव्यापी अर्थशास्त्रीय मान्यता छ ।
प्रणालीमा तरलता प्रसस्त हुँदा ब्याजदर घट्छ भने अभाव हुँदा बढ्छ । तर, नेपालको वित्तीय प्रणालीको ब्याजदरमा भने फरक दुश्य देखिन्छ । कहिले नियमक निकाय राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर घटाउन वा बढाउन निर्देशन दिने त कहिले बढाउन बैंकहरू आफै सिन्डिकेट लाद्ने गरेका छन् ।
बैंकिङ क्षेत्रका जानकारहरू बजारले नै ब्याजदर घटाउन भूमिका खेल्ने बताउँछन् । जसको कारण उद्योग तथा उत्पादनका क्षेत्रमा लगानीको लागि सहज वातावरण बन्ने उनीहरूको भनाइ छ ।
पूर्व बैंकर परशुराम कुँवर क्षेत्री ब्याज वृद्धिले बैंकमा पैसा राख्न प्रेरित गरे पनि बजारले नै त्यसलाइ सन्तुलनमा राख्ने बताउँछन् । ‘बैंकमा पैसा राखेरै यत्ति धेरै ब्याज आउँछ भने किन काम गर्नेभन्ने विचार आउनु स्वभाविक हो । ब्याज बढी आउने हुँदा सबैले बैंकमा पैसा राख्न खोज्छन् नै,’ उनले भने, ‘त्यसो हुनेवितिक्कै पैसाको सप्लाइ धेरै हुन्छ । सप्लाइ बढेपछि कर्जाको माग घट्छ । किनभने सबैले काम नगर्ने पैसा मात्र बचाउने हो भने कर्जाको माग घट्छ ।’
कर्जाको माग नहुनु भनेको लगानी भइरहेको छैन भन्ने हो । कर्जाको माग घटेपछि डिपोजिट बढेर फेरि ब्याजदर घट्ने उनले बताए । वित्तीय प्रणालीमा अब तरलताको समस्यामा समाधान हुनुका साथै ब्याजदर वृद्धिमा करेक्सन आउने उनको भनाइ छ ।
ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा
बैंकहरूले स्रोत अभावका कारण चालु आवमा उल्लेख्य कर्जा विस्तार गर्न सकेका छैनन् । निक्षेप आकर्षण गर्न गत असोजमा ब्याजदर पनि बढाए तर, अपेक्षा अनुसार निक्षेप संकलन हुन सकेन् ।
बैंकहरूले हाल निक्षेपको ब्याजदर १५.१३३ प्रतिशतसम्म दिइरहेका छन् ।संस्थाहरू बीच स्रोत संकलनको सोही अस्वस्थ प्रतिस्पर्धाका कारण बैंकको लागत बढेर आधारदर दोहोरो अंकमा पुग्यो ।
अन्तत: जसको प्रभाव कर्जाको ब्याजदरमा देखिएको छ । उक्त भार ऋणीको टाउकोमा थोपरिएको छ । कात्तिकमा कर्जाको ब्याजदर १८ प्रतिशत पुगेको छ । जसको कारण लगानीका लागि नयाँ कर्जा लिनेहरू निरुत्साहित त भएका छन् नै कर्जा नवीकरण गर्नेहरूलाई समेत समस्या परेका छन् ।
बैंक तथा वित्तीय संस्था र उद्योगी बीच ब्याजदर वृद्धिको विषयलाई लिएर चलेको रस्साकसिले आर्थिक क्षेत्रमा अस्थिरता सिर्जना गरेको छ ।