काठमाडौं । संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको छ । अन्तर्राष्ट्रिय मूल्यवृद्धि, वित्तीय प्रणालीमा तरलता अभाव र बाह्य दबाब कायमै रहे पनि रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले सकारात्मक आशा जगाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ मसान्तमा रेमिट्यान्स आप्रवाह १९ प्रतिशतले बढेको छ ।
यद्यपि, विनिमय संचिति घटेको छ भने मूल्यवृद्धि लक्ष्यभन्दा बाहिर छ । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा आयात १३.० प्रतिशतले, निर्यात ३४.९ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ ।
चालु वर्षको भदौ मसान्तसम्म शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ भने संघीय सरकारको खर्च १३४ अर्ब ३४ करोड र राजस्व परिचालन १४३ अर्ब ८१ करोड रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा भने ०.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ७.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
महंगीले सीमा नाघ्यो
सरकारले ७ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने लक्ष्य लिएपनि भदौ महिनाको मसान्तसम्म मूल्यवृद्धि ८ प्रतिशत नाघेको छ । चालु वर्षको भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदाथ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ । २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.११ प्रतिशत रहेको थियो ।
चालु खाता र शोधनान्तर स्थिति घाटामा
भदौ मसान्तमा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु खाता र शोधनान्तर स्थितिमा पनि सुधार भएको तथ्यांकले देखाउँछ ।
१९ प्रतिशतले बढ्यो रेमिट्यान्स
चालु आवको भदौमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भइ १८७ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
७.७ महिना धन्न पुग्ने विनिमय संचिति
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय संचिति घटेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ ।
प्रणालीमा कायम रहेको उक्त संचितिले ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । सरकारले विदेशी विनिमय संचितिमा गिरावट आएको भन्दै गत वर्षको चौथो त्रेमासदेखि गाडी तथा विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । बाह्य दबाबमा रहेको अर्थतन्त्र सुधारको कम गर्ने राष्ट्र बैंकको नीति छ ।