काठमाडौं । सरकारले प्याराग्लाइडिङ उडान सुरक्षित गर्ने बारे अध्ययन गर्न अध्धयन समिति गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार ७ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
अध्ययन समितिमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल हवाई खेलकुद संस्था, चिकित्सा क्षेत्र लगायतका प्रतिनिधि रहने प्राधिकरणले जनाएको छ । साथै, समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्नेछ ।
समितिले प्याराग्लाइडिङ उडानमा अहिले भइरहेको अभ्यासको अध्ययन गरी यसलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनु पर्ने उपायबारे सुझाव सहित प्रतिवेदन बुझाउनु पर्नेछ ।
गत आइतबार पोखरामा नवौं राष्ट्रिय खेलकुदका प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाका खेलाडीको मृत्यु भएको थियो । त्यसपछि प्राधिकरणले देशैभर अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ ।