काठमाडौं । तिहारमा प्रयोग गरिने भाइमसला आयात झन्डै आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयात १ अर्ब २० करोडले घटेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ९६ करोड ४४ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५२ लाख केजी भाइमसला आयात भएका विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १६ करोड रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । सो मूल्य बराबरको १ करोड ३ लाख केजी भाइमसला आयात भएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा कुल ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । सो मूल्य बराबर ३ करोड ३७ लाख केजी भाइमसला आयात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा कुल ५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको भाइमसला सामग्री आयात भएको थियो । सो वर्ष ५ करोड केजी भाइमसला आयातका क्रममा १ अर्ब ४५ करोड रकम राजश्व संकलन भएको थियो ।
कुन कति आयात ?
२० करोडको काजु आयात
चालु आर्थिक वर्षको भदौसम्ममा २० करोड ९६ लाख रुपैयाँ बराबरको काजु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड २३ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो ।
गत आर्थिक वर्षमा कुल १ अर्ब १७ करोड रुपैयाँ बराबरको काजु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
बदाम आयात घट्यो
चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ९ करोड ९५ लाख रुपैयाँ बराबरको बदाम आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ७१ लाख रुपैयाँ बराबरको बदाम आयात भएको थियो । यो वर्ष उच्च रुपमा बदामको आयात घटेको छ ।
गत आर्थिक वर्षमा कुल ८४ करोड १८ लाख रुपैयाँ बराबरको बदाम आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
५ करोडकाे ओखर आयात
यो वर्ष गत वर्षको तुलनामा ओखर आयात घटेको छ । चालु आर्थिक वर्षको दुई महिनामा ५ करोड २ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ३५ लाख रुपैयाँ बराबरको ओखर आयात भएको थियो । गत आर्थिक वर्षमा कुल ७२ करोड ८५ लाख रुपैयाँ बराबरको ओखर आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
पेस्ता आयात घट्यो
चालु आर्थिक वर्षमा ३ लाख ३० हजार रुपैयाँ बराबरको पेस्ता आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ३४ हजार रुपैयाँ बराबरको पेस्ता आयात भएको थियो । गत आर्थिक वर्षमा कुल २ करोड १० लाख रुपैयाँ बराबरको पेस्ता आयात भएको थियो ।
११ करोडको नरिवल आयात
चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ) सम्ममा १९ करोड ४४ लाख रुपैयाँ बराबरको नरिवल आयात भएको छ । उक्त मूल्यमा २८ लाख केजी नरिवल आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ६० लाख रुपैयाँ बराबरको नरिवल आयात भएको थियो । गत आवमा कुल ८२ करोड ४५ लाख रुपैयाँ बराबरको नरिवल आयात भएको थियो ।
छोकडा आयात न्यून
चालु आर्थिक वर्षमा ५ हजार रुपैयाँको मात्र छोकडा आयात भएको छ । सो मूल्यमा ५४ केजी छोकडा आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ७० लाख रुपैयाँ बराबरको छोकडा आयात भएको थियो । सो मूल्यमा ३ लाख ९१ हजार केजी छोकडा आयात भएको थियो । गत आवमा कुल ६ करोड ३७ लाख रुपैयाँ बराबरको छोकडा आयात भएको थियो ।
किसमिस आयात आधाले घट्यो
चालु आर्थिक वर्षमा तिहारका लागि ३ करोड ७८ लाख रुपैयाँ बराबरको किसमिस आयात भएको छ । सो मूल्यमा १ लाख ६२ केजी किसमिस आयात भएको हो । गत आवको सोही अवधिमा ६ करोड ८० लाख रुपैयाँ बराबरको किसमिस आयात भएको थियो । सो मूल्यमा ३ लाख २७ हजार केजी किसमिस आयात भएको थियो । गत आवमा कुल २३ करोड ७१ लाख रुपैयाँ बराबरको किसमिस आयात भएको थियो ।
सुपारी आयात
चालु आर्थिक वर्षमा ४१ करोड रुपैयाँ बराबरको सुपारी आयात भएको छ । गत आर्थिक वर्षको सोही अजधिमा २७ करोड ५५ लाख रुपैयाँ बराबरको सुपारी आयात भएको थियो ।
गत केही वर्षबाट भाइटीकामा प्रयोग हुने कटुस समेत आयात हुन थालेको छ । नेपालका पहाडी भेगमा पाइने कटुस बजारसम्म पुग्न नसकेपछि यसरी भारतबाट आयात गरिन थालेको हो ।
चालु आर्थिक वर्षको २ महिनामा मात्र १७ हजार रुपैयाँ बराबरको ७० केजी कटुस आयात भएको छ । गत आर्थिक वर्षमा कुल ४९ हजार रुपैयाँ बराबरको कटुस आयात भएको थियो ।